देवघाट । असार ७
देवघाटधाम जेसिज २०२५ को आयोजनामा देवघाट गाउँपालिका–३ स्थित भृकुटी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बाल विकास केन्द्रलाई आवश्यक शैक्षिक तथा खेल सामग्रीहरू हस्तान्तरण गरिएको छ । प्रारम्भिक कक्षामा अध्ययनरत नानी बाबुहरुको समग्र विकासका लागि आवश्यक पर्ने सामग्रीहरू प्रदान गर्दै देवघाटधाम जेसीजले सामाजिक उत्तरदायित्वको भावनालाई अझ मजबुत बनाएको छ ।



उक्त कार्यक्रमका देवघाट गाउँपालिकाका उपाध्यक्ष तथा देवघाटधाम जेसीजका मानार्थ सदस्य भुवन सिंह गुरुङ थिए । साथै विद्यालयका प्रधानाध्यापक किशोर काफ्ले, सहायक प्रधानाध्यापक श्रीराम शर्मा, विद्यालयका शिक्षक–कर्मचारीहरू तथा देवघाटधाम जेसीजका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभापति तथा देवघाटधाम जेसीज २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले बाल शिक्षा मानव जीवनको आधार भएको उल्लेख गर्दै यस्ता साना तर प्रभावकारी सहयोगहरूले बालबालिकाको सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे । उनले भने ‘हामीले दिने साना सहयोगहरूले पनि कसैको जीवनमा ठूलो फरक पार्न सक्छ, बाल विकासको चरण नै व्यक्तित्व निर्माणको पहिलो आधार हो ।’
‘भृकुटी माविबाट सामाग्री अभावको कारण बालबिकासको कक्षा चलाउन असहज भएकोमा सहयोग उपलब्ध गराउनका लागि पत्र प्राप्त भएकोमा यो विकराल अवस्था देखिएकोले सहयोग गर्ने मनस्थिति बनायौँ र सहयोग गर्ने मानसिकता बन्यो । आज हामीले हस्तान्तरण गरेका सामग्रीहरू बालबालिकाको सिकाई, खेल र सृजनात्मक क्षमताको अभिवृद्धिमा सघाउनेछ भन्ने हाम्रो विश्वास छ ।’
अध्यक्ष ढकालले भविष्यमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, नेतृत्व विकास र सामाजिक सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । उनले विद्यालय प्रशासन, शिक्षक तथा पालक वर्गसँग समन्वय गर्दै यस्ता कार्यहरूको प्रभाव अझ व्यापक बनाउने योजना पनि सुनाए ।
कार्यक्रम अन्तर्गत बाल विकास केन्द्रलाई प्रदान गरिएका सामग्रीहरूमा कार्पेट, म्याट, पठन चार्टहरू, शैक्षिक पजल, विल्डिङ ब्लकहरू, विभिन्न रंगका बलहरू आदि समावेश गरिएको थियो । विद्यालयका प्रधानाध्यापक काफ्लेले विद्यालयको तर्फबाट जेसीजप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले बालबालिकामा सिक्ने वातावरण थप सहज र रोचक बनाउने बताए ।












