विष्णु मगर । देवघाट, साउन २४
३१ औ विश्व आदिवासी दिवसको अवसरमा देवघाट गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको समन्वयमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल आदिवासि जनजाति महासंघ तनहुँका पुर्व अध्यक्ष हरि सिं गुरुङले प्रशिक्षण दिएका थिए ।




उक्त अवसरमा बोल्दै गुरुङले विश्वभर ९० भन्दा बढी मुलुकमा करिव ४५ करोड ६० लाख आदिवासी रहेको गुरुङले बताए । उनले विश्वका करिव सात हजार भाषाहरु मध्ये चार हजार भन्दा बढी भाषाहरु आदिवासि जनजातिले बोल्ने बताए । १० वर्षे जनयुद्धमा दुवै पक्षगरि तेह्र हजार जनाले ज्यान गुमाएका मध्य त्यसमा बढि आदिवासि जनजातिले ज्यान गुमाएको गुरुङले बताए ।

देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले आदिवासि जनजातिको हक र अधिकारको विषयमा बजेटहरु छुट्याइ कार्यक्रम गर्दै आएको बताए । देवघाट गाउँपालिकामा १३ जातजाति रहेको हुदा सबैलाइ समेटेर बजेट छुट्याउन पर्ने हुदा आदिवासि जनजातिलाइ पुर्ण रुपले समर्थन गर्न नसकेको थापाले बताए । हरेक जातजातिको प्रतिनिधिहरुले आफ्नो जातजातिलाइ उत्थान गर्ने विगयमा अबल हुन पर्ने थापाले बताए । सामाजिक र सांस्कृतिक पक्षलाई सुधार्न सके आर्थिक विषयमा सुधार गर्न सकिने अध्यक्ष थापाले बताए ।
कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कालिका तिमिल्सिना लम्सालले आदिवासि जनजातिकोको हक र अधिकारको विषयमा आफुले सक्ने काममहरु गर्ने बताइन् ।

उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङ, कार्यपालिका सदस्य बाबुराम परियार, नेपाल मगर संघ देवघाट गाउँपालिका कमिटिका अध्यक्ष खड्क पामी आले, तामाङ समुदायकी तिल माया लामा, भुजेल समुदायका सुन्दर भुजेल, बोटे समाजका अध्यक्ष राम बहादुर बोट, गुरुङ समाजका अध्यक्ष नर बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
३१ औं विश्व आदिवासी दिवसको अवसरमा शनिबार तनहुँका सबै स्थानीय तहले विभिन्न कार्यक्रम आयोजना गरेका थिए । स्थानीय तहहरुले दिवसको अवसरमा आदिवासी जनजाती समुदायमा शुभकामना समेत दिएका थिए । संयुक्त राष्ट्रसंघले अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवस मनाउने निर्णय गरेसँगै यो दिवस मनाउन थालिएको हो । यो दिवस सन १९९४ मा विश्वभरका आदिवासी जनजाती समुदायको हक अधिकार तथा उनीहरुको आधारभुत मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले मनाउने घोषणा गरेपछि विश्वभर मनाउन थालिएको हो ।

जल, जङ्गल र जमिनसँग निकट भएर जीविकोपार्जन गर्दै आएका आदिवासी जनजातिहरुले राज्यपक्षसँग आफ्ना हकअधिकार प्राप्तीका लागि सुरूका दिनहरुमा यस्तै दिवसहरुको प्रयोग गरेको पाइन्छ । फलस्वरुप विश्व आदिवासी दिवसको ३१ औँ शृङ्खलासम्म आइपुग्दा पनि आन्दोलनको बाटो भने रोकिएको छैन । तसर्थ यस वर्ष ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्र संघका एजेन्सी संस्था (युएनड्रिप) र आइएलओ १६९ सम्बन्धी सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मुल नाराका साथ यो दिवस मनाइएको थियो ।
नेपालको संविधान–२०७२ ले दिएको अधिकारसमेत प्राप्त गर्न नसकेपछि त्यसको दशक बितिसक्दासमेत आन्दोलन नै गरिरहन बाध्य भएको आदिवासी जनजाति समुदायको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले जनाएको छ ।
राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्दाहरुलाई पनि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमै बहस पैरवी गर्ने महत्पूर्ण अवसरका रुपमा विश्व आदिवासी दिवसलाई हेर्न थालिएको नेपाल आदिवासी जनजाती महासंघ तनहुँका अध्यक्ष सुजित हिराचनले बताए ।

आदिवासी जनजातिले राज्य पक्षसँग आफ्ना हक अधिकार माग्दै गर्दा आदिवासी जनजाति समुदायको संस्कार, संस्कृति संरक्षण गर्ने विषयमा समेत गम्भीर भएर सोच्दै आएको हिराचनले बताए । तसर्थ आदिवासी जनजाति समुदायका हरेक कार्यक्रममा जनजाति समुदायसँग जोडिएको संस्कृति प्रस्तुत हुँदै आएको उनको भनाइ छ ।
‘आदिवासी जनजातिका भाषा, साहित्य त छँदै छन् । पहिचानको मुद्दालाई पनि बलियो ढङ्गले उठाउने छौँ’, उनले भने, ‘सङ्घीयता लागू भइसके पनि हाम्रा मागहरु जबसम्म पूरा हुँदैनन् त्यतिञ्जेलसम्म आन्दोलन जारी रहन्छ ।’ नेपालमा रहेका ५९ आदिवासी जनजाति समुदायमध्ये नेपाल आदिवासी जनजाति महासंघको सङ्घीय समितिमा ५६ जाति आबद्ध छन् ।












