समाजसेवी न्यौपाने भन्छन्ः ‘नयाँ सरकारले उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने विश्वास लिएको छु’
तनहुँ । असोज ५



देशकै ‘लाईफलाइन’ सडक को रुपमा लिइने मुग्लिन–नारयणगढ सडक पहिरोको कारण ४५ घन्टासम्म पुर्ण रुपमा अवरुद्ध भयो । दशैं नजिकिँदा आफ्नो गन्तव्यमा पुग्न साइत गरेर हिडेका हजारौं यात्रुहरु शुक्रबार साँझ ५ बजेदेखी आईतबार दिउँसो ४ बजेसम्म सडकमा अलपत्र परेर बस्न बाध्य भए ।
पश्चिम नेपालको सबै भाग र पुर्वी नेपालको अधिकांश भागलाई राजधानीसँग जोड्ने उक्त सडकमा वर्षेनी पहिरोले निकै दुख दिने गरेको छ । पहिरोको कारण सडक अवरुद्ध भएपछि उक्त मुग्लिन–नारायणगढ सडकको विकल्प सोच्न थालिन्छ तर वर्षायाम सकिएपछि फेरी ताल, बैकल्पिक सडकको बहस सकिन्छ ।
पछिल्लो दुई वर्ष यता भने मुग्लिन–नारायणगढ खण्डको बैकल्पिक सडक निर्माण कार्य सुरु भएको छ तर निकै सुस्त गतिमा । हाल सन्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकको विकल्पको रुपमा हालको सडकको पारिपट्टी तनहुँको आबुँखैरेनी गाउँपालिकाको पुलजिपबाट–गाईघाट हुँदै–दासढुङ्गा–ठिमुरा–गैडाकोट सडकको ट्रयाक खोल्ने कार्य गत आर्थिक वर्षबाट सुरु भएको छ । गत आर्थिक वर्षमा उक्त सडकको डिपिआर पनि भइसकेको छ । उक्त बैकल्पिक सडकमा पहिलो चरणको ट्रयाक खोल्न सडक विभागले गत आर्थिक वर्षमा २ करोड ७५ लाख र चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमले पुलजिपबाट घुमाउने तर्फ सडकको ट्रयाक खन्न थालिएको छ । सडक निर्माणको ठेक्का पाएको डिभाइन लाईट कन्स्ट्रक्सन कम्पनीले ट्रयाक खन्ने काम सुरु गरेको हो ।

तराईका जिल्लाहरुलाई राजधानीसँग जोड्ने नारायणगढ–मुग्लिन सडकको विकल्पमा मुग्लिनबाट गाइघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैडाकोट जोड्ने सडकको डिपिआर पश्चात सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।
पश्चिम तराईलाई मुग्लिन जोड्ने हाल सन्चालन भईरहेको नारायणगढ बजार हुँदैको सडकको विकल्पमा गैैडाकोट हुँदै दासढुङ्गा जोड्ने गरि बैकल्पिक सडक निर्माण गर्नु पर्ने देवघाटबासीले माग गर्दै आएका थिए । विशेषगरि देवघाटका समाजसेवी कुलचन्द्र न्यौपानेले पटक–पटक यस सम्बन्धी आवाज उठाउँदै आएका थिए । न्यौपानेकै पहलमा उक्त सडकको लागि रकम विनियोजन भएको हो ।
नवलपुरको गैैडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटोहुँदै दासढुङ्गादेखी मुग्लिनसम्म तनहुँ तर्फ त्रिशुलीको किनार किनारै बैकल्पिक राष्ट्रिय राजमार्ग आवश्यक भएको भन्दै न्यौपानेको नेतृत्वमा पटक–पटक सडक डिभिजन चितवन, सडक विभाग र भौतिक पुर्वाधार मन्त्रालयसम्म डेलिगेशन भएको थियो । उक्त सडकको ट्रयाक खन्न थालिएपछि खुसी व्यक्त गर्दै समाजसेवी न्यौपानेले आफ्नो वर्षाैदेखीको प्रयत्नले सार्थकता पाएको बताए । उनले उक्त सडकलाई अव राज्यले उच्च प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरेर काम सम्पन्न गर्नुपर्ने बताए । ‘नयाँ सरकारले उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने विश्वास लिएको छु’ न्यौपानेले भने ‘उक्त बैकल्पिक सडक जतिसक्दो चाँडो निर्माण गर्न सकियो, जनताले त्यती नै कम सास्ती बेहोर्नुपर्छ ।’

उक्त बैकल्पिक राजमार्गको बारेमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/०७४ को बजेट तथा सरकारको नीति तथा कार्यक्रममा मै सर्भे र डिपिआरको लागि बजेट बिनियोजन गरेका थिए । उक्त बैकल्पिक सडकको लागि तत्कालिन अर्थमन्त्री पौडेलले २३० करोड रुपैयाँ बिनियोजन गरिसकेकोमा त्यसपछिको सरकारले उक्त योजना रद्ध गरेको नेकपा एमाले देवघाट गाउँ कमिटिका निवर्तमान अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।
उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसकोलागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैंडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरै भन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने अध्यक्ष थापाले बताए । पहिलो चरणमा गैंडाकोटदेखी दासढुङ्गासम्म सडक निर्माण गर्न सके त्यसपछि दासढुङ्गादेखी मुग्लिनसम्म त्रिशुली नदीको किनारमा तनहुँ तर्फ अर्काे राष्ट्रिय राजमार्ग निर्माण गर्न सकिने अध्यक्ष थापाको भनाई छ ।

नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिरोले दुःख दिन थालेपछि सरकारी तहबाट नै नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको हो । सडक विभागले पनि डिभिजन सडक कार्यालय भरतपुरलाई अहिलेको सडकपारि त्रिशूली किनारै किनार तनहुँतर्फ नयाँ सडक बनाउने गरी गृहकार्य सुरु गर्न निर्देशन दिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर पर्छ भने दासढुङ्गादेखि मुग्लिनसम्मको २२ किलोमिटर सडक बनाउने हो भने नारायणगढ–मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ ।












