तुइनखोला पहिरोः १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड

Devghat Online

शेयर गरौ

चितवन । असोज ८

तुइनखोलामा खसेको सुक्खा पहिरो पन्छाउने काम बुधबार बिहानैदेखि सुरु गरियो । सडकका दुवैतर्फबाट २÷२ वटा गरी ४ वटा उपकरणले बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार साँझसम्म सडकको दुवैतर्फ गरी करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ ।

मंगलबार अपरान्ह खसेको भयंकर पहिरोले झन्डै १६० मिटर सडक क्षेत्र पुरिएको छ भने २० मिटर अग्लो पहाड नै बनेको उनले बताए । आचार्यले भने, ‘फिल्डमा ६ वटा उपकरणको व्यवस्था गरिएको छ । तर एक पटकमा एकातर्फ दुई वटा भन्दा बढी उपकरण चलाउन मिल्दैन । त्यसैले दुवैतर्फ गरी ४ वटा उपकरणले बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ ।’

उनले भने, ‘पहिरो पन्छाउँदै जाँदा ठूलाठूला ढुंगाहरू भेटिएको छ । जसका कारण पहिरो पन्छाउन थप कठिनाइ भइरहेको छ । ठूलाठूला ढुंगाका कारण पहिरो पन्छाउने कामले गति लिन सकेको छैन ।’ थप पहिरो नखसेको अवस्थामा भोलि बिहीबार साँझसम्म पहिरो पन्छाउन सकिन्छ कि भन्ने अपेक्षा गरिएको उनले बताए ।

डोजर चालक कमलेश चौधरीका अनुसार यसैगरी निरन्तर पहिरो पन्छाउने काम भएमा पर्सिसम्म पहिरो पन्छाएर सकिने विश्वास व्यक्त गर्छन् । उनी भन्छन्, ‘पहिरो खस्ने जोखिम उत्तिकै छ । तर पनि जोखिम मोलेर हामीले पहिरो पन्छाइरहेका छौं । सडकमा अलपत्र परेका यात्रुहरूको दुःख देखेर आफूहरूलाई काम गर्ने हौसला मिलेको छ । आत्मबल बढेको छ ।’

एक पटकमा दुई वटा भन्दा बढी डोजर प्रयोग गर्न नमिल्ने भएका कारण दुवै तर्फ गरी ४ वटा डोजरले पहिरो पन्छाउने काम भइरहेको उनी बताउँछन् । दुई वटाभन्दा बढी डोजर प्रयोग गर्दा जोखिम बढी रहेको उनले बताए ।

सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक मंगलबार अपरान्हदेखि पूर्ण रूपमा बन्द भएको छ । पहिरोका कारण यो सडकखण्ड प्रयोग गर्ने सवारीसाधनलाई चितवन प्रशासनले सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण