तनहुँ । असोज २३
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आँबुखैरेनी गाउँपालिकाको व्यवस्थापनमा सयपत्री फूलको उत्पादन सुरु भएको छ । आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ स्थित ‘सयपत्री यानचोकटार लघु उद्यम महिला समूह’ ले तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी फूल उत्पादन गरेको हो ।



गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले स्थानीय स्तरमा उत्पादित फूल र मालाहरू प्रयोग गरी आयातित फूल र मालालाई विस्थापित गर्न र आत्मनिर्भर बन्न कोसिस गर्नुपर्ने बताए ।
गाउँपालिका कृषि विकास शाखा प्रमुख सन्तोष केसीका अनुसार सयपत्री फूल टिपाइको दोस्रो चरण विहिबारदेखी सुरु भएको छ । उनले भने, ‘महिला समूहको सक्रियतामा उत्पादन भइरहेको सयपत्री फूलले चाडपर्वमा माग पूर्ति गर्नुका साथै महिला आर्थिक सशक्तीकरणमा समेत टेवा पु¥याउने विश्वास लिइएको छ ।’
सयपत्री फूलको समयमै उत्पादन र टिपाइ सुनिश्चित गर्न गाउँपालिकाले आवश्यक प्राविधिक सहयोग तथा व्यवस्थापन गरिरहेको समेत कृषि शाखाले जनाएको छ ।












