देवघाट । कार्तिक ९
देवघाटधाम क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले यस वर्ष पनि देवघाटधाम गन्डकी परिक्रमा महोत्सव हुने भएको छ । उक्त कार्यक्रम आगामी कार्तिक १८ गते कार्तिक शुक्ल–बैकुण्ठ चतुदर्शीको दिन हुने छ । विगत केही वर्ष यता कार्तिक शुक्ल–बैकुण्ठ चतुदर्शीको दिन देवघाटधाम गन्डकी परिक्रममा महोत्सव आयोजना गरिँदै आएको छ ।



मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधाम र गन्डकीको संगमको पुर्ण पावन उर्जा प्राप्त गर्ने तथा संसारकै दुर्लभ तिर्थ देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत रहेका सन्त माहात्माहरुको अगुवाईमा कार्तिक शुक्ल बैकुण्ठ चतुर्दशीको दिन देवघाटधाम गन्डकी परिक्रमा महोत्सव हुने महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए । नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको सहयोगमा देवघाटधाम गन्डकी परिक्रममा महोत्सव हुनेछ ।
देवघाटधामको बेणी संगमबाट सुरु हुने उक्त गन्डकी परिक्रमा अन्तर्गत तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पान्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।
यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गणेशस्थान, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ ।
यसैगरि नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
उक्त महोत्सवमा देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसारको मुख्य कार्यक्रम रहेको छ ।
यसैविच देवघाटधाम गन्डकी परिक्रममा–२०८२ को कार्यक्रम सफल पार्न नेपाल सन्त समाजको पलहमा आज सोमबार गलेश्वर आश्रम देवघाटमा सरोकारवालाहरुको बैठक आह्वान गरिएको छ ।












