बारा । मंसिर ६
पछिल्लो समय जेन–जी अगुवाको रुपमा आगजनी र बिध्वंसको नेतृत्व गरेका तथा अराजक गतिविधिमा संलग्न सुधन गुरुङसहितका व्यक्तिले आफ्नो घर फेरि जलाउने धम्की दिएकोप्रति विघठित प्रतिनिधिसभाका सदस्य तथा एमाले नेता कृष्णकुमार श्रेष्ठ किसानले आपत्ति जनाएका छन् ।



आफू पार्टी कामका सिलसिलामा काठमाडौंमा रहेको बेला शनिबार सिमरा, औराहास्थित उनको घरमै पुगेर पुनःनिर्माणमा सरिक कामदारलाई गुरुङले धम्क्याएको आरोप श्रेष्ठले लगाएका छन् । विज्ञप्ति जारी गर्दै श्रेष्ठले भनेका छन्, ‘लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनःनिर्माण गर्ने मेरा कर्मचारी, कामदार लाई धम्क्याउने र घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुनसक्छ भनेर धम्की दिएको घटनाको घोरभत्र्सना गर्दछु ।’
एमाले नेता श्रेष्ठले जेन–जीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसमक्ष माग गरेका छन् । उनले ३ र ४ गते सिमरामा भएको प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
पूर्वसूचनाबिनै सुधन गुरुङको नेतृत्वको टोली शनिबार पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको औराहास्थित निजी निवासमा प्रवेश गरेको थियो । श्रेष्ठले जेनजीको नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति गराउन स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गरेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री श्रेष्ठको घर र ४ वटा सवारी साधनमा तोडफोड र आगजनी भएको थियो ।
जेनजी आन्दोलनका क्रममा आगलागी भएको घरको पुनर्निर्माणमा खटिएका इन्जिनियर चिरन्जीवी झाले गुरुङको नेतृत्वमा आएको टोलीले आफूलाई धम्की दिएको दाबी गरेका छन् । इन्जिनियर झाले गुरुङले उद्धृत गर्दै भने, ‘तपाईं किसान श्रेष्ठलाई सम्झाइदिनुस् सिमराका जेनजीहरूलाई कसैले हातपात ग¥यो भने घरमा मात्रै होइन, मान्छेलाई आगो लगाउन सक्छ ।’ साथै, उनले ‘किसान श्रेष्ठको प्लटिङमा के के गर्नुपर्छ हामीलाई थाहा छ’ भन्दै धम्की शैलीमा भनेर फर्किएको र गुरुङले धम्क्याउँदा सबैलाई क्यामेरा बन्द गर्न भनेको पनि बताएका छन् ।
श्रेष्ठको निवासमा लामो समयदेखि सहयोगीका रूपमा काम गर्दै आएकी मीरा श्रेष्ठले आकस्मिक रूपमा आएको अपरिचित समूहले धम्काएर गएको बताइन् । उनले ‘भदौ २४ गते घर मात्रै जल्यो, अब किसान श्रेष्ठलाई जलाउँछौँ भन्नुभयो, अब हामी पनि कति बेला के हुन्छ भनेर डरले यहाँ बस्न नसक्ने अवस्थामा छौँ,’ उनले डर व्यक्त गरिन् ।
कानुनी वा व्यावहारिक रूपमा व्यक्तिको निजी घररसम्पत्तिको अनुगमन गर्नुपूर्व सम्बन्धित घरधनी वा स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने वा अनुमति लिनुपर्ने व्यवस्था छ । तर, गुरुङले बिनासूचना स्थानीय प्रशासनलाई समेत जानकारी नदिई पूर्व मन्त्रीको घर र उनको व्यावसायिक क्षेत्रको अनुगमन गरेको आरोप लागेको हो ।
पूर्वमन्त्री श्रेष्ठका स्वकीय विकास साह कानूले बिनाजानकारी कसैको घर र निजी सम्पत्तिमा आउनु गलत भएको बताएका छन् । उनले ‘उहाँ प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जाँचबुझ आयोग, स्थानीय प्रशासन कहाँ कुन निकायबाट खटिनुभएको हो, कसरी आउनुभयो हामीलाई जानकारी छैन’ भन्दै ‘घरमा कोही नभएको बेला गुण्डागर्दी शैलीमा यसरी आउन मिल्छ ?’ भनेर प्रश्न गरे ।
यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जेनजी अगुवा गुरुङ बिनाजानकारी पूर्वमन्त्री श्रेष्ठको निजी निवासमा जानु गलत भएको टिप्पणी गरेका छन् । उनले जेनजीहरू पूर्वमन्त्रीको घरमा जाँदैछन् भनेर स्थानीय प्रशासनलाई जानकारी नभएको बताए । ‘यसरी बिना जानकारी कसैको घरमा छिर्नु गुण्डागर्दी शैली हो,’ उनले भने । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पनि जेनजी सुदन गुरुङ पूर्व मन्त्रीको निवासमा गएको विषयमा कुनै औपचारिक जानकारी नभएको बताए ।












