तनहुँ । मंसिर १७
खुलाबाट कडेंल र राना, महिलाबाट श्रेष्ठ र थापा तथा युवाबाट तिमिल्सेना



मतगणनाको क्रममा विवाद भएपछि स्थगित भएको तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि छनौट सम्बन्धी कार्य टुंगिएको छ । केन्द्रीय तहका नेताहरुको छलफलपछि सबै पाँच जना प्रतिनिधि नाममा सहमती भएको हो ।
केन्द्रीय तहका नेताहरुले सोमबार र मंगलबार दिनभर आपसमा तथा उम्मेदबारहरुसँग पनि छलफल गरि प्रतिनिधिको नाम छनौट गरि केन्द्रीय संगठन विभागमा सिफारिस गरेका छन् । सिफारिस भएका प्रतिनिधिहरुमा खुल्ला तर्फ जिल्ला अध्यक्ष हरिराज कडेंल (देवघाट) र प्रेमकुमार राना (भानु), महिला तर्फ मनुमाया श्रेष्ठ (व्यास) र फुलमती थापा (बन्दीपुर) र ४० वर्ष मुनीका युवाबाट मदन तिमिल्सेना (व्यास) को नाममा सहमती गरेका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ मा मतगणनाको क्रममा विवाद भएर गणना कार्य स्थगित भई प्रतिनिधिको टुंगो नलागेपछि केन्द्रीय संगठन विभागले त्यसको समन्वय गर्न तनहुँका केन्द्रीय सदस्यहरुलाई जिम्मेबारी दिएको थियो । केन्द्रीय नेताहरुले उम्मेदबारका सबै आकांक्षीहरुलाई बोलाई आफुहरुले गरेको निर्णय मान्ने विषयमा सहमत गराएका थिए । सोही अनुसार पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली तथा केन्द्रीय सल्लाहाकार प्रतापलाल श्रेष्ठले प्रतिनिधि टुंगो लगाउने विषयमा सोमबारदेखी लगातार छलफल गरेका थिए ।

बन्दीपुर गाउँपालिकाको मत गन्ने क्रममा विवाद भई मतगणना स्थगित भएपछि महाधिवेशन प्रतिनिधिका उम्मेदबार पुर्णबहादुर गुरुङले बन्दीपुर गाउँपालिकाको मतपत्र लुटेर लगेपछि मतगणना कार्य अवरुद्ध भएको थियो । लुटिएको मतपत्र गन्ने अवस्था नभएको र पुनः मतदान गर्ने अवस्था पनि नभएपछि प्रतिनिधि चयन गर्ने जिम्मेबारी केन्द्रीय सदस्यहरुलाई दिईएको थियो ।
यसैगरि तनहुँकी नेतृ मुन्नी खातुन पनि नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । खातुन् मुस्लिम इत्तेहाद संगठन केन्द्रीय समितिको तर्फबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् ।
यस अघि तनहुँ क्षेत्र नम्बर १ बाट खुल्ला तर्फ श्रीप्रसाद श्रेष्ठ, राजेश्वर ढकाल र विष्णुभक्त सिग्देल, महिला तर्फ बिर्सना श्रेष्ठ र विष्णुमाया अधिकारी पराजुली र युवाबाट उज्वल खनाल तथा जिल्लाभरका दलित सदस्यबाट भरत लामगादे सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका थिए । लोकवाणी दैनिकबाट











