भर्जन कालिका मन्दिरमा पन्चघन्टी स्थापना, विहिबार बार्षिक पुजा गरिने

Devghat Online

शेयर गरौ

गोमा न्यौपाने । देवघाट, मंसिर १७

देवघाट गाउँपालिका–५ पिपलटारमा निर्माणाधिन भर्जन कालिका मन्दिरमा पन्चघन्टी स्थापना गरिएको छ । उक्त कार्यक्रममा देवघाट स्थित महेश सन्यास आश्रमका पिठाधिश १००८ स्वामी रमणानन्द गिरीजी महाराजले मन्दिरमा घन्टी स्थापनाको शुभारम्भ गरेका थिए । प्रमुख अतिथि रमणान्द गिरीज्युको उपस्थितीमा पन्च घण्टी (पाँच वटा घण्टी) मन्दिरमा स्थापना गरिएको थियो । गुरुहरुद्वारा मन्त्रोच्चारण सहित अगाडीको भाग, आग्नेय, इसान्य, वायव्य र नैरित्य कोणमा घण्टी स्थापना गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै स्वामी रमणानन्द गिरीजी महाराजले भर्जन कालिका देवीको महिमा र महत्वको बारेमा बताउँदै महाकालेश्वरका रूपमा रहनु भएका शिवसँगै यहि देवघाटमा रहनु भएकी देवीलाई दिव्य रूपमा जोगाएर राखेकै कारण आज दिव्य स्वरूपको दर्शन गर्न पाएको बताए । सो अवसरमा स्वामी रमणानन्द गिरीजी महाराजले मन्दिरमा नित्य पूजाकार्य सन्चालन गर्न अक्षकोष निर्माणका लागि ५१ हजार रुपैयाँ प्रदान गर्ने बताए ।

महेश संस्कृत गुरुकुलका प्रधानाचार्य फणिन्द्र प्रसाद पौडेलले यस भर्जनकालिका देवी भगवतीको दिव्य स्वरूपलाई संरक्षण गरेर देवघाटको गरिमालाई अझै बलियो बनाउनु पर्ने बताए । देवी शक्ति स्वरूपाको नित्य पूजाआजा गर्दै अघि बढ्दा सबै किसिमका दुख कष्ट नाश हुने बताउदै यस कार्यमा लाग्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्दै यसलाई अन्तराष्ट्रिय स्तरमा समेत चिनारीको रूपमा लैजानु पर्ने बताए ।

भर्जन कालिका मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले यस भर्जनकालिका देवी आफैंमा एक शक्तिशाली हुनु भएकाले यहाँ आएर आफ्ना इच्छा चाहना पूरा हुने बताउदै देवी मन्दिर निर्माणका लागि आफुहरु निमित्त पात्र मात्र रहेको बताए । उनले देवीको चाहना अनुरूप आफुहरुअघि बढने बताउँदै देवीको मन्दिर निर्माणमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गरे ।

२००६ सालदेखी भर्जन कालिका देवीको मन्दिरमा मंसिरको धान्यपुर्णिमाको दिन विशेष पुजा भईरहेको भन्दै न्यौपानेले जिर्ण अवस्थामा रहेको मन्दिरको पुननिर्माण गरिएको बताए । यसवर्ष ७८ औं निम पूजा हुने भएकाले सम्पूर्ण भक्तजनहरूलाई पूजामा सहभागि हुनका लागि न्यौपानेले अनुरोध गरे ।

सो र्काक्रममा मन्दिर निर्माण समितिका उपाध्यक्ष पन्चबहादुर आलेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य रामहरी पुडासैनी, मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरी, रानी सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारी, देवघाट ४ खानेपानीका अध्यक्ष विष्णुुप्रसाद अधिकारी लगायत मन्दिर निर्माणका समिती, चन्दादाता निर्माणकर्मी लगायत स्थानीयबासिन्दाहरूको उपस्तिथि रहेको थियो ।

मन्दिरमा स्थापना गरिएका पाँच वटा घन्टी देवघाट गाउँपालिका–५ पिपलटारका जिवनाथ अधिकारी, सुर्यबहादुर विक, देवकी रिमाल, बद्रीनाथ काफ्ले तथा कालिका प्राविका शिक्षक शिक्षिका परिवारले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू