तनहुँ । मंसिर १७
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा बुधबार व्यास नपा–१ स्थित निर्मल मावि र व्यास नपा–४ को परासर उच्च माविमा विद्यालयस्तरिय खाद्य स्वच्छता तथा खाद्य पोषण सचेतना कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा निर्मल माविका माध्यमिक तहका ९० जना विद्यार्थी तथा पराशर उच्च माविका ११ र १२ का ६० जना विद्यार्थीहरुलाई खाद्य स्वच्छता तथा खाद्य पोषण सम्बन्धि सचेतना दिईएको थियो ।



उक्त दुबै कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य, खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगर तथा प्राविधिक सहायक अनुषा खरेलले विद्यार्थीहरुले दैनिक जीवनमा खाइरहेका कुराहरुलाई कसरी स्वच्छ बनाएर राख्ने, खाने भन्ने विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा खानेकुरामा रङको जथाभावी प्रयोग नगर्ने, चटपट लगायतका जंकफुडमा कागती, निबुवा प्रयोग मात्र गर्ने, केरा आँप लगायत फलफूल पकाउन रातो झोल जस्ता विषादीको प्रयोग नगर्ने, मसी युक्त पत्रपत्रिका, किताबका पानामा राखेर, बेरेर समोसा, आलुचप, सेलरोटी जस्ता तारेका, भुटेका, चिल्ला खानेकुरा नखान, फ्रिजको प्रयोग राम्रोसँग गर्न, सन्तुलित आहार बारे जानकारी दिइएको थियो ।
यस्तै कार्यक्रममा प्रशोधित खानेकुराको बट्टामा रहेको लेबल विवरण तरिका सिकाई तथा विद्यार्थीहरुले आफूले खाएको खाजामा कस्तो लेबल रहेछ भनेर प्रयोगात्मक परिक्षण गरिएको थियो । खानेकुराको तालमेल नमिल्दा फूड पोइजनिङ हुने, दीर्घरोग लाग्ने, मोटोपन जस्ता समस्या आउने कुराहरु सो अवसरमा जानकारी गराईएको थियो ।

विद्यार्थीको खानपानको शैलीमा केही मात्र परिवर्तन गर्न सके र स्वच्छ खानेकुरा खाए र आफूले किनेर खाने प्रशोधित खानेकुराको लेबल विवरण राम्रोसँग हेर्न जाने सबै नागरिक स्वस्थ हुने खाद्य डिभिजन दमौलीका प्रमुख ज्योति आचार्यले बताए ।
होटलहरुको अनुगमन हुने
खाद्य गुणस्तर तथा गुण नियन्त्रण कार्यालय तनहुँ, म्याग्दे गाउँपालिका र म्याग्दे उद्योग वाणिज्य सघंको आयोजनामा म्याग्दे गाउँ पालिका भित्र पृथ्वीराजमार्गमा सन्चालन भएका होटलहरूको अनुगमन हुने भएको छ ।

म्याग्दे गाउँपालिकामा सन्चालित होटललाई गुणस्तर चिन्ह प्रदान गर्ने उदेश्यका साथ अनुगमन गर्न लागिएको हो । म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीको अध्यक्षतामा भएको बैठकमा खाद्य गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्य, म्याग्दे गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने, थर्पु प्रहरी प्रमुखले व्यवसायीलाई तालिम दिने र अनुगमन गर्ने निर्णय गरेको हो ।
तालिमवाट प्रशिक्षण दिने र खाद्य गुणस्तर कायम गर्ने मुख्य उदेश्य रहेको खाद्य कार्यालय प्रमुख आचार्यले जानकारि दिए ।












