विभिन्न कार्यक्रम गरि मनाईयो अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १७

अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा बुधबार ‘अपाङ्गता समावेसी समाजको प्रबद्र्धनः सामाजिक उन्नतीको सम्बद्र्धन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरियो । स्थानीय तह र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संस्थाको तर्फबाट दिवसको अवसरमा विभिन्न सचेतनाका कार्यक्रमहरु आयोजना गरिएको थियो ।
दिवसको अवसरमा दमौलीमा व्यास नगरपालिकाको आयोजनामा प्ले कार्ड सहित बजार परिक्रमा गरि अनसन चौतारीमा कोण सभा एवं अपाङ्गता भएका विद्यार्थी विच विभिन्न खेलकुँद प्रतियोगिता आयोजना गरिएको थियो ।

व्यास नगरपालिकाकी उपप्रमुख तथा अपाङ्गता सरोकार समन्वय समितिकी संयोजक इन्दिरा दरैको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, एकिकृत सेवा कार्यालय तनहुँका प्रमुख, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, सह्रदयी मन्चकी अध्यक्ष सावित्री सुवेदी, पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायतले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको विषयमा मन्तव्य राखेका थिए ।

यसैगरि अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा ‘अपाङ्गता समावेशी समाजको प्रवद्र्धन  सामाजिक उन्नतिको संवद्र्धन’ भन्ने राष्ट्रिय नाराका साथ, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नवौँ दिन भिमाद नगरपालिकामा उत्कृष्ट संरक्षक सम्मान कार्यक्रम आयोजना गरियो । यसै अवसरमा बुधबार साँझ दमौलीमा दिप प्रज्वलन समेत गरिएको थियो ।

भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नगरप्रमुख दधिराज सुवेदी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्षज्यू कार्यपालिका सदस्यहरू, नेपाली प्रहरी, बहिनी एडुकेयर फाउण्डेशनका प्रतिनिधि, मस्तिष्क पक्षघात स्वावलम्बन समूहका प्रतिनिधि साथै कर्मचारीहरूको उल्लेखिय उपस्थितिमा रहेको थियो ।

साथै सोही अवसरमा सामाजिक विकास कार्यालय तनहुँद्वारा आयोजित अन्तरपालिका स्तरीय हाजिरी–जवाफ प्रतियोगितामा भिमाद नगरपालिकाको प्रतिनिधित्व गर्दै जनज्योति माध्यमिक विद्यालय, भिमाद–६, प्रथम स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई भिमाद नगरपालिकाले सम्मान गरिएको थियो ।

यसैगरि दिवसको अवसरमा बन्दीपुरमा अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने हिंसा तथा लैङ्गिक हिंसा न्युनिकरणका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई दया हैन, समान अवसर प्रदान गर्नुपर्ने बताए ।

यसैगरि दिवसको अवसरमा म्याग्दे गाउँपालिकामा दोभाषे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले बोली सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको लागि दोभाषे प्रशिक्षण कार्यक्रम उपयोगी हुने बताए ।

अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तराष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गरेको थियो । त्यस यता सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको हो । तर नेपालमा भने यो दिवस सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू