सबै उम्मेदबारको सहमतीको आधारमा प्रतिनिधि छनौट गरियोः एमाले सचिव अधिकारी

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १७

अनुचित क्रियाकलापको छानविन गरि कारवाही गरिने

नेकपा एमाले जिल्ला कमिटि तनहुँका सचिव प्रदिपराज अधिकारीले सबै उम्मेदबारको सहमतीको आधारमा तनहुँ क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि छनौट गरिएको प्रष्ट पारेका छन् । सामाजिक सन्जाल फेसबुकमा धारणा सार्वजानिक गर्दै सचिव अधिकारीले प्रतिनिधि छनौटका सबै विकल्पहरूमध्ये सर्वसम्मतिको विकल्पमा जाने भन्ने कुरामा सबै उम्मेदवारहरू सहमत भएको र सबै उम्मेदवारले सहमतिका लागि लिखित हस्ताक्षर गरेको बताए । सोही अनुसार तनहुँ क्षेत्र नम्बर १ बाट सर्वसम्मत रुपमा नेतृत्व तहले महाधिवेशनका लागि प्रतिनिधिहरूको छनोट गरिएको अधिकारीको दाबी छ ।

‘नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिरको २७ देखि २९ सम्म काठमाडौँमा हुन गइरहेको छ । महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न मंसिर १३ गते देशैभर सबै जिल्लामा एकै दिनको मिति निर्धारण गरिएको थियो । सोही निर्धारित दिनमा देशभर प्रतिनिधिहरू सर्वसम्मत वा निर्वाचन जस्तो लोकतान्त्रिक विधिको माध्यमबाट छनोट भएका थिए । यसै सन्दर्भमा तनहुँ जिल्ला क्षेत्र नम्बर २ मा सर्वसम्मत ढङ्गबाट प्रतिनिधि छनोट भएको थियो भने क्षेत्र नम्बर १ मा निर्वाचन प्रक्रिया मार्फत प्रतिनिधि छनोट गर्ने प्रक्रिया अगाडि बढाइएको थियो ।’ अधिकारीले लेखेका छन्–‘क्षेत्र नम्बर १ का सबै पालिकाबाट मतपेटीका जिल्ला पार्टी कार्यालयमा संकलन भए पश्चात् मतगणना कार्य प्रारम्भ भएको थियो । मतगणनाकै क्रममा केही विवाद सिर्जना भयो र मतगणना कार्य स्थगित हुन पुगेको कुरा सार्वजनिक भई नै सकेको छ । मतगणना कार्य स्थगित भइसके पछाडि नेकपा एमालेका नेता र पार्टीलाई बदनाम गराउने गरी जुन ढंगले समाचारहरू सम्प्रेषण भएका छन् , पार्टीकै कार्यकर्ताहरूबाट जसरी सामाजिक सञ्जालमा आफ्ना मतहरू प्रकट गर्नुभएको छ । यसले वास्तवमा मतगणना कार्य स्थगित हुनका पछाडि के भएको थियो भन्ने बुझाईलाई अझ दिग्भ्रमित बनाइएको छ । वास्तविकतामा भ्रम सिर्जना गर्ने कोसिस गरिएको छ ।’

नेकपा एमाले र त्यसको नेतृत्वलाई एमाले इतरका शक्तिहरूले अराजनीतिक तर्कबाट कमजोर बनाउन चौतर्फी रुपबाट हमला गर्ने काम भइरहेको बेला एमालेकै कार्यकर्ताबाट सत्य तथ्यलाई बङ्ग्याई भ्रमसिर्जना गर्नु किमार्थ उचित हुन नसक्ने सचिव अधिकारीको भनाई छ । ‘१३ गते बेलुका मतगणनाका बेला भएको विवाद पश्चात त्यसलाई कसरी निरूपण गर्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो । नेतृत्वले उम्मेदवारहरूसँग विभिन्न विषयमा छलफल चलाएको थियो । यसरी चलाएको छलफलमा खासगरीकन बन्दीपुर मतदान केन्द्रमा पुनः मतदान गर्ने वा बन्दीपुरको मतगणना जति भयो त्यसलाई मान्यता दिई व्यास नगर कमिटी अन्तर्गत भएको मतदान को मतपत्र गणना गर्ने र शोको आधारमा नतिजा सार्वजनिक गर्ने वा तनहुँ जिल्लाका केन्द्रीय नेता हरूलाई सर्वसम्मतिको पहलको अधिकार दिने, सर्वसम्मतिको लागि उम्मेदवार दिएका कमरेडहरूभन्दा बाहिरबाट पनि छनोट गर्न सकिने जस्ता विषयहरु थिए ।’ अधिकारीले भनेका छन् यी सबै विकल्पहरूमध्ये सर्वसम्मतिको विकल्पमा जाने भन्ने कुरामा सबै उम्मेदवारहरू सहमत भएको र सबै उम्मेदवारले सहमतिका लागि लिखित हस्ताक्षर गरेका थिए । सोही अनुसार तनहुँ क्षेत्र नम्बर १ बाट सर्वसम्मत रुपमा नेतृत्व तहले महाधिवेशनका लागि प्रतिनिधिहरूको छनोट गरेको छ । जो साथी महाधिवेशन प्रतिनिधिको छनोटमा पर्नुभयो उहाँहरूलाई हार्दिक बधाई छ । साथै सहमतिका लागि समर्थन गर्ने सम्पूर्ण उम्मेदवार कमरेडहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

मतगणना कार्य हुँदैगर्दा र मतगणना स्थगित भएपछाडि भए गरेका अनुचित क्रियाकलापहरूका बारेमा जे–जे गतिविधि भएका थिए त्यसको सत्यतथ्य छानबिन गरी दोषी देखिएकाहरूलाई दोषको आधारमा कारबाही हुने अधिकारीले बताए । साथै सत्य तथ्यभन्दा बाहिर गई अफवाह सिर्जना गर्ने र आम कार्यकर्तालाई निराश पार्ने ढङ्गका जुन हर्कत भएका छन् यसका बारेमा पनि व्यापक समीक्षा गर्न जरुरी छ र त्यस विषयमा छलफल हुने अधिकारीको भनाई छ ।

तसर्थ आम कार्यकर्ता र पार्टी सदस्यहरूलाई आवेशमा आई नेता, नेतृत्व र पार्टीप्रति अनावश्यक आरोप र लान्छना लगाउने काम सामाजिक सञ्जाल मार्फत नगर्न अधिकारीले अनुरोध गरेका छन् । पार्टीको छलफल सञ्चालन गर्ने आफ्नै विधि र परम्परा रहेको र त्यही विधि र परम्परालाई अवलम्बन गरेमा मात्रै नेतृत्वलाई सम्मान दिन सकिने र पार्टीलाई बचाउन सकिन्छ तथा पार्टीका ध्येय र उद्देश्यहरू पूरा गर्न सकिने अधिकारीले बताए ।

पार्टी कार्यालयमा राखिएका मतपत्रहरू साटफेर गर्न खोजियो, फर्जी मत राख्न खोजियो भन्ने जस्ता गलत समाचार सम्प्रेषणले नेकपा एमाले जिल्ला कमिटिको ध्यानआकृष्ट भएको भएको भन्दै अधिकारीले यस्तो हुँदै नभएको कुप्रचार किन गरिन्छ ? कसले गर्छ ? भन्ने प्रश्न गरे । ‘केही साथीहरुले व्यासको मतै नगनिकन किन घोषणा गरियो भन्ने प्रश्न पनि उठाउनुभएको छ । उम्मेदवार कमरेडहरूको सर्वसम्मत सहमतिका आधारमा निर्वाचन प्रक्रियाबाट बाहिरिएर सहमतिको प्रयत्न गर्नका लागि नेताहरू लाई अनुरोध गरेका कारण हामी पहिलो चरणको प्रक्रिया भन्दा बाहिर प्रवेश गरेका छौं ।’ अधिकारीले भने ‘सोही प्रक्रियाबाट अगाडि बढेको कारण मतगणनाको कुरा गर्नु उचित र जायज छैन । तसर्थ आम पार्टी सदस्यहरू स्पष्ट हुन जरुरी छ कि उम्मेदवार प्रतिनिधिहरूको सर्वसम्मत सहमति र नेतृत्व तहको सर्वसम्मत छनोट विधि मार्फत यो निर्णय हुन पुगेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को