तनहुँ । माघ १८
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न तनहुँमा भर्ना गरिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को आधारभूत तालिम आइतबारबाट सुरु भएको छ ।



निर्वाचन प्रहरीमा दरखास्त दिई विभिन्न छनौट प्रक्रिया पार गरेका प्रशिक्षार्थीहरुकोलागि आइतबारदेखि व्यास नपा ५ को पाटन स्थित खेलमैदानमा तालिम सुरु गरिएको हो । उक्त तालिमको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी तिवारीले निर्वाचनको संवेदनशीलतालाई बुझेर जिम्मेवारीपूर्वक तथा निश्पक्ष रुपमा प्रस्तुत हुन प्रशिक्षार्थीहरूलाई निर्देशन दिए । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेक बहादुर कार्की, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सुरक्षा निकायका प्रशिक्षकहरू र निर्वाचन प्रहरीहरूको उपस्थिति रहेको थियो ।

प्रशिक्षार्थीहरूको सहजताका लागि जिल्लाका विभिन्न स्थानहरूमा तालिम केन्द्रहरू तोकिएका छन् । पाटन खेल मैदानसँगै इलाका प्रहरी कार्यालय आँबुखैरेनी, बेलचौतारा, भानु र बन्दीपुरमा पनि सम्बन्धित क्षेत्रका प्रशिक्षार्थीहरूका लागि तालिम सञ्चालन गरिएको छ ।

प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले तालिम अवधिभर निर्वाचन प्रहरीहरूलाई सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, कानुनी प्रावधान र निर्वाचन आचारसंहिताका बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने बताए । तालिमपश्चात उनीहरूलाई जिल्लाका विभिन्न मतदान स्थल र केन्द्रहरूमा सुरक्षाका लागि परिचालन गरिने योजना रहेको छ ।













