‘धर्म निरपेक्षता ठिक छ भन्नेहरु किन मस्जिद र चर्चबाट चुनावी अभियान सुरु गर्न सक्दैनन ?’
तनहुँ । माघ १८



तनहुँ क्षेत्र नम्बर १ को चुनावी माहौल हेर्दा मैदानमा नेपाली काँग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका भगवती न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले मात्र देखिँदैनन् । यि तिन प्रमुख पार्टीका उम्मेदवारको भिडमा यसपटक पछिल्लो समय अर्का एक उम्मेदवार चर्चामा आएका छन् । उनी हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रामदत्त जोशी (अभिषेक) ।
सामाजिक सन्जाल फेसबुकमा ३० जनवरी (माघ १६ गते शुक्रबार) एक प्रयोगकर्ता दिल निशानी मगरले एउटा पोष्ट गरे । ‘विदेशी पफ्र्यूम छर्किएर मंगमंग बसाउनेहरूभन्दा स्वदेशी खरानी धसेर गन्हाउने जोगीहरू नै महान हुन्छन् । देशको विकास अक्सफोर्ड विश्वविद्यालयमा पढेको मान्छेले मात्र हैन, वेद र पुराण पढेको पण्डितले पनि गर्न सक्छन् । नेपाल भन्ने देश राजनीतिले जोगाएको हैन, धर्मशास्त्रले पनि जोगाएको हो । नेपालमा चुनाव हुन थालेको पचास वर्ष पनि भएको छैन, तर हजारौं वर्षदेखि यो देश आफ्नो स्वाभिमानमा सधैं स्थिर र अब्बल रहदै आएको छ । तनहुँ क्षेत्र नम्बर १ मा हिन्दू धर्मका अभियन्ता अभिषेक जोशी लाई हलो चिन्हमा मतदान गरौं ।’ माओवादी निकट मानिने टिप्पणीकर्ता दिल निशानी मगरले लेखेको पोष्ट हो यो ।

दिल निशानीको पोष्टमा आइतबारसम्म २३ हजारले लाईक, ३ हजार ६ सयले कमेन्ट र १ हजार १ सय जनाले शेयर गरेका छन् । लाइक र शेयरकर्ताले उक्त पोष्ट मन पराए । तर २ हजार ६ सय मध्ये प्राय सबै कमेन्टरले उनको भनाईलाई समर्थन गर्दै अभिषेक जोशीलाई शुभकामना दिएका छन् । उनको पोष्टपछि धेरैले राप्रपाका उम्मेदवार अभिषेक जोशीको बारेमा जानकारी पाएका छन् । जोशी आफै पनि सामाजिक सन्जालमा निकै सक्रिय छन् । उनको आफ्नै फेसबुक पेजमा २९ हजार भन्दा बढि फलोअर छन् । दिल निशानी मगरले बिदेशी पर्फ्युम छर्किएर मंग मंग बसाउने तथा अक्सफोर्ड विश्वविद्यालय आएका भन्ने संकेत राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेलाई भनेका हुन् भनेर ठम्याउन कुनै गाह्रो छैन ।
पछिल्लो समय रास्वपाका वाग्लेले हिन्दु धर्म मान्नेहरु पार्टी छाडेर गए हुन्छ भन्ने भिडियो सार्वजानिक हुनु र सोही पार्टीका अर्का नेता खगेन्द्र सुनारले सार्वजानिक रुपमा व्यक्त गरेको गाइ काटेर खान पाइने भन्ने आशयको कारण सबैले हिन्दुधर्म माथी आक्रमण सुरु भएको अर्थमा बुझ्न थालेका छन् ।

जोशी हिन्दु धर्मका अभियन्ता समेत हुन् । उनी चुनावी प्रचारको क्रममा शुक्रबार र शनिबार देवघाट क्षेत्रमा थिए । जोशीलाई देवघाटका धर्म गुरुहरुले अव हिन्दु धर्मको रक्षाकोलागि चुनाव जित्नुपर्ने सुझाव दिएका छन् । देवघाट देवभुमीको रुपमा चिनिन्छ । देवघाटलाई हिन्दुहरुले आदिप्रयाग मान्छन् । पवित्र कालिगन्डकी र त्रिशुली नदीको संगम स्थान तथा सयौं मठ मन्दिर रहेको, दर्जनको संंख्यामा आश्रम तथा गुरुकुल सन्चालन रहेको देवघाटका धर्म गुरुहरुले जोशीलाई शुभकामना सहितको आर्शिवाद पनि दिएका छन् ।
हिन्दु धर्मको अभियन्ता जोशीले तनहुँ जिल्ला देवघाट जस्तो पवित्र देवभुमी रहेको, महर्षी वेदव्यासको जन्मस्थान रहेको तथा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान रहेको कारणले पनि यो ठाउँको गरिमा जोगाउन उम्मेदवार बनेको बताएका छन् । तनहुँको निर्वाचन क्षेत्रबाट हिन्दु विरोधीले चुनाव जित्न नहुने मान्यतामा उनी छन् । सोही कारण पनि जोशीले सनातन धर्मको रक्षाकोलागि आफु चुनावी मैदानमा आएको बताउँछन् ।

‘भाषणमा हिन्दुलाई पार्टी छोडेर जाउ भन्नेहरु मन्दीरमा गएर घन्ट बजाउँछन्’ जोशीले भने ‘भोट चाहिने बेलामा हिन्दुको मन्दिर चाहिने, हिन्दुको भोट चाहिने तर व्यवहार चै क्रिश्चियनिटिकरण गर्ने ?’ धर्म निरपेक्षता ठिक छ भन्नेहरुले मस्जिद र चर्चबाट किन आफ्नो चुनावी अभियान सन्चालन गर्न नसेकेको ? जोशीले प्रश्न गरेका छन् ‘भोट चाहिने बेलामा चाहीँ हिन्दुको मन्दिर चाहिन्छ तर व्यवहार चैं हिन्दु विरोधी गर्ने ।’
८० प्रतिशत हिन्दू जनसंख्याले सोच्नुहोस; बुझ्नुहोस् र प्रष्ट हुनुहोस् भन्दै जोशीले हिन्दू अधिराज्य कुनै आस्था विरुद्धको एजेण्डा होइन, नेपालका चार सभ्यता–संस्कृति हिन्दू, बौद्ध, किराँत र बोनको संवैधानिक सम्बोधनको चाहना भएको बताए । यी बाहेक अन्य धर्मावलम्बीले पनि पूर्ण स्वतन्त्रताका साथ आफ्नो आस्थाको अभ्यास गर्न पाउनेछन् । उनले भने ‘कसैसँग विभेद गर्ने; कसैलाई अपहेलित गर्ने; कसैका अधिकार खोस्ने मेरो चाहना छैन र होइन पनि ।’ खराब नियत र बुझाइ भएका मान्छेले हिन्दू अधिराज्यको चाहनालाई गलत ढंगले व्याख्या गरिरहेको भन्दै उनले यस्ता गलत कुरालाई नपत्याउन सबैलाई अनुरोध गरे ।

‘४ वेद, १८ पुराण, ब्रम्हसूत्र, मीमांसा, भागवत् गीता एवं विश्वको सबैभन्दा ठूलो महाकाव्य महाभारतका रचयिता, ज्ञानको दिव्य ज्योति, हिन्दु धर्मको सार–महर्षि ऋषि वेदव्यास जन्मिएको देवो तथा तपोभूमि तनहुँलाई विश्वसामु चिनाउँछु भनेर जोशीले ‘प्रतिबद्धता’ गर्नुभएको छ’ राप्रपा तनहुँका निवर्तमान अध्यक्ष बिनोद घर्तीले भने ‘चुनावमा उठेको व्यक्तिले जनाएको प्रतिबद्धता उपर कसैलाई खबरदारी गर्ने इच्छा भए, भोट हाल्नु, आफ्नो पहिलो कर्तव्य हो भन्ने कुरा व्यासभुमीका नागरिकले पक्कै बुझ्नुभएको छ ।’
हिन्दु राष्ट्रको एजेण्डा बोक्नेहरु बिगतको भन्दा धेरै नै बढिसकेको भन्दै घर्तीले पछिल्लो सयम हिन्दु धर्म विरोधी गतिविधि बढ्न थालेको हुँदा सनातन धर्मको रक्षाकोलागि पनि राप्रपाको हलो चिन्हमा मतदान गर्नुपर्ने बताए ।












