तनहुँ । माघ २०
व्यास नपा १० को बैरेनीमा नेपाली काँग्रेसको प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । उक्त कार्यालयको मंगलबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले उद्घाटन गरे ।



सो अवसरमा बोल्दै केन्द्रीय सदस्य वाग्लेले तनहुँ क्षेत्र नम्बर १ ले परदेशी र क्षणिक स्वार्थका लागि आएको व्यक्ति होइन, यही माटोमा हुर्किएको, यही समाज चिनेको नेतृत्व खोजिरहेको बताए । ‘झुक्काउन आउने होइन, माटो चिनेको नेता आवश्यक छ,’ केन्द्रीय सदस्य वाग्लेले रास्वपाका उम्मेदवारप्रति लक्षित गर्दै भने ‘गोविन्द भट्टराई जनताको दुःख–सुखसँग जोडिएको, स्थानीय आवश्यकता बुझेको र विकासप्रेमी नेता हो ।’

उक्त अवसरमा नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले आफू ‘गुगलले चिनेको नेता होइन, माटोले चिनेको नेता’ भएको बताए । यहाँ जनताका वास्तविक समस्या आफूलाई थाहा रहेको र तिनको समाधानका लागि नै उम्मेदवार बनेको भट्टराईले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बदलिएर युवा पुस्ताको नेतृत्वतर्फ अघि बढेको सन्देश पनि दिइएको थियो । पार्टीभित्र गगन थापाको नेतृत्व स्थापित भइसकेको उल्लेख गर्दै वक्ताहरूले अब काँग्रेस सुशासन, जवाफदेहिता र जनमुखी राजनीतिका साथ अघि बढ्ने बताए ।
यसअघि व्यास नगरपालिका–१२ मा घरदैलो कार्यक्रम तथा व्यास नगरपालिका–९ गजौंडेमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू चिनु पोख्रेल, प्रकाश पन्थ, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेश सदस्य इन्जिनियर हरिदत्त पौडेललगायतले काँग्रेस उम्मेदवार गोविन्द भट्टराईको पक्षमा धारणा राखेका थिए ।












