तनहुँ । बैशाख १२
सिमित श्रोत साधनको बाबजुद घिरिङको विकासमा उल्लेख्य काम गरेका छौंः अध्यक्ष थापा



घिरिङ गाउँपालिकाको आयोजना तथा लोकवाणी पब्लिकेशन प्रालिको सहजिकरणमा आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर ५ को कार्यालय देउरालीमा सम्पन्न भयो । चालु आर्थिक वर्षको दोश्रो चौमासिक अवधिसम्म गाउँपालिकाले सम्पादन गरेको विकास आयोजना, सेवा प्रवाह तथा बजेट खर्च लगायतको बारेमा सार्वजानिक सुनुवाई गरिएको थियो ।
उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सिमित श्रोत र साधनको बाबजुद घिरिङ गाउँपालिकालाई सबै दृष्टिले सम्पन्न र समृद्ध बनाउन आफुहरु लागि परेको बताए । शिक्षाको गुणस्तरमा बृद्धी, १० शैयाको आधारभुत अस्पतालको निर्माण, कृषि र पशुपालनको व्यवसायीकरण तथा उत्पादनमा आधारित अनुदान, ग्रामिण सडकहरुको स्तरोन्नती, आन्तरिक आम्दानीमा बृद्धी गर्ने गाउँपालिकाको मुख्य प्राथमिकतामा रहेको अध्यक्ष थापाले बताए ।

त्यसैगरि अदुवा प्रशोधन केन्द्र स्थापना, प्रतिबन्धित घाटहरुको सन्चालन, एक घर एक धारा, सुख्खा टारहरुमा सिंचाई, बेरुजु अन्त्य, एम्बुलेन्सको सहजता तथा कालिगन्डकी डाईभर्सन गर्न रोक लगाउने जस्ता कार्यहरुलाई पनि प्राथमिकता दिईएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले सबै राजनीतिक दल, संघ संस्था तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरि काम भईरहेको जानकारी दिए । गाउँपालिकामा स्थानीय पाठ्यक्रम तयार भई लागु भईसकेको अध्यक्ष थापाले जानकारी दिए ।
गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको कृष्णमार्गको सम्बन्धमा परेको मुद्धा टुङ्गोा लागेर ठेक्का समेत तोडिसकिएको भन्दै अध्यक्ष थापाले अव कृष्णमार्गमा नयाँ ठेक्का लाग्ने प्रक्रिया अगाडी बढ्ने बताए । आगामी आर्थिक वर्षमा कृष्णमार्गको ठेक्का लगाउन संघीय सरकार समक्ष माग गरिएको भन्दै अध्यक्ष थापाले विगतमै विनियोजित रकमबाट ठेक्का लगाउन सकिने बताए ।

कालिगन्डकी बहुप्राविधिक शिक्षालय, कृषि उपज संकलन केन्द्र, कोल्ड स्टोर, अत्रौली–पुट्टार सिंचाई आयोजना, शालिग्राम संग्रहालय, अंगुर खेती आदि गाउँपालिकाको गौरवको विषय भएको अध्यक्ष थापाले बताए । कालिगन्डकी बहुप्राविधिक शिक्षालयमा अध्ययनको लागि गाउँपालिकाको उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्ने, कोल्डस्टोर्स सन्चालन गर्ने, अत्रौली–पुट्टार सिंचाई आयोजना सम्पन्नको लागि संघ र प्रदेश सरकारमा अनुरोध गर्ने अध्यक्ष थापाले बताए । त्यसैगरि नयाँटार र करुवाटार सिंचाई आयोजना पनि पुरा गर्ने अध्यक्ष थापाले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले सार्वजानिक सुनुवाई कार्यक्रमले गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी दिने र नागरिकहरुको सुझाव ग्रहण गर्न पाईने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले आ.व २०८२/०८३ मा गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी गराएका थिए । ढकालका अनुसार गाउँपालिकाले पुर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए । विभिन्न सिप मुलक तालिम, आय आर्जनमा जोड, कोल्ड स्टोर सन्चालन, कृषि र पशुपालनमा अनुदान, सुन्तला पकेट कार्यक्रम सन्चालन, मकै पकेट कार्यक्रम, अदुवा पकेट कार्यक्रम आदि सन्चालन गरेको बताए ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको बजेट ४५ करोड रहेकोमा दोश्रो चैत मसान्सम्म ४८. ८८ प्रतिशत अर्थात २१ करोड ९९ लाख ८४ हजार रुपैयाँ खर्च भएको ढकालले बताए । त्यस्तै संघ, प्रदेश र स्थानीय गरि ४५ करोड आम्दानीको लक्ष्य राखिएकोमा चैत मसान्तसम्म ७३.७५ प्रतिशत अर्थात ३३ करोड १९ लाख १९ हजार आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

घिरिङ्ग गाउँपालिकाको हालसम्मको बेरुजु रकम १४ करोड ९६ लाख ९७ हजार ६५० रहेकोमा यो वर्ष २ करोड ६६ लाख ८० हजार ६६४ रुपैयाँ फस्र्यौट भईसकेको र बाँकी बेरुजु १२ करोड १० लाख ८७ हजार ६०१ रहेको छ । त्यसैगरि योजना तर्फ पालिकाभर चालु आर्थिक वर्षमा १९० योजना छनौट भएकोमा १३३ योजना सम्झौता भएको, त्यसमध्ये ६१ योजना सम्पन्न भई भुक्तानी भईसकेको र ५७ योजना सम्झौता हुन बाँकी रहेको छ । न्यायिक समिति तर्फ चालु आ.वमा १२ वटा उजुरी दर्ता भएकोमा मेलमिलाप भएका ८ र नियमित प्रक्रियामा रहेका ४ वटा उजुरी रहेका छन् ।
उक्त कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष विष्णुविर आलेले वडाबाट सम्पन्न भएका कामहरुको बारेमा जानकारी दिदैं वडा नम्बर ५ मा विकासको प्रचुर सम्भावना भएको भन्दै गाउँपालिकाले पनि वडा नम्बर ५ लाई विशेष महत्व दिनुपर्ने बताए ।

उक्त कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर राना, वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापा, नेकपा एमाले गाउँ कमिटिका अध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाली काँग्रेस वडा नम्बर ४ का सभापती विरबहादुर थापा, दलबहादुर थापा, महाजन श्रेष्ठ, यमन सिंह थापा लगायतले भौतिक पुर्वाधारमा जोड दिनुपर्ने, कृष्णमार्गलाई कालोपत्रे गर्न पहल गरिनुपर्ने, श्रृङ्गमार्ग स्तरोन्नती गर्न पहल गर्नुपर्ने, आन्तरिक आम्दानीलाई बढाउन पहल गर्नुपर्ने, गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, शालिग्राम करिडोरको गुणस्तरमा ध्यान दिनुपर्ने, स्वच्छ खानेपानी तथा एक घर एक धारामा जोड दिनुपर्ने, युवा पलायन रोक्नुपर्ने, स्थानीय कला र संस्कृतीको संरक्षण गर्नुपर्ने, ठुला फाँटहरुमा सिंचाई सुविधा लैजानु पर्ने तथा घिरिङ गाउँपालिकाको जिवनसँग जोडिएको कालिगन्डकी डाइभर्सनको योजनालाई रोक्नुपर्ने जस्ता सुझावहरु दिएका थिए ।
सहभागीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, पुर्वाधार, मोटरेवल पुल, सामुदायिक भवन निर्माण, सिंचाई, कालीगन्डकी डाइभर्सनको योजना रोक लगाउनुपर्ने लगायतका विषयमा जिज्ञासा, सुझाव र धारणाहरु राखेका थिए । उक्त कार्यक्रमको सहजिकरण लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।












