तनहुँ । बैशाख १३
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण हुने भएको छ । चुँदी रम्घामा निर्माण हुने उक्त भानु साहित्य उद्यानको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।



चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माणका लागि सरकारले गत आर्थिक वर्षमा बजेट बिनियोजन गरेको थियो । सरकारले भानु साहित्य उद्यान निर्माणकोलागि पहिलो चरणमा संघीय शहरी विकास मन्त्रालय मार्फत २० करोड विनियोजन गरेको थियो । उक्त बजेटले भानु साहित्य उद्यानका शिखर कटेरी हूँदै रम्घा डाँडा सम्मको मोटर मार्ग स्तरोन्नती (कालोपत्र सहित), भानुको विशाल प्रतिमा निर्माण (५४ फुट) आदि भौतिक संरचनाको कार्य अघि बढाईने भएको छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यस उद्यानले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । यस शिलान्यास समारोहलाई स्थानीय स्तरमै ऐतिहासिक र गौरवमय कार्यक्रमका रूपमा हेरिएको नगर प्रमुख त्रिपाठीले बताए । भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन गत पुस दोश्रो साताको भानु नगरपालिकाको कार्यपालिका बैठकद्वारा स्वीकृत गरिएको थियो । गुरुयोजना बमोजिम साहित्य उद्यानको पूर्णताको लागि करिव १ अर्वको लागत अनुमान गरीएको छ ।
प्रस्तावित संरचना भित्र समेटिएको प्रमुख निर्माण परिकल्पनाहरुमा भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमुना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, प्रवेशद्वार, बस्ती तथा बजार क्षेत्र, मनोरञ्जन वनभोज स्थल, पार्किड स्थल, प्राकृतिक वन–विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र, साहित्यिक पदमार्ग आदि रहेका छन् ।
भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रुपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु एंव नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्वर्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गर्नु रहेको छ ।
यसै अनुरुप संस्थाले रम्घाकोट (रम्घाको डाँडो) मा भानुभक्तको विशाल प्रतिमा निर्माण गर्ने, भानुभक्तको कृतित्वलाई जीवन्तता दिन रम्घाको डाँडामा रामायण मन्दिर निर्माण गरी प्रमुख चरित्र (राम, सीता) का मुर्ति स्थापना गर्नु र रामायणमा वर्णित स्थान, घटना र परिवेशलाई विभिन्न माध्यमद्वारा प्रस्तुत गर्ने, नेपालको सामाजिक तथा सांस्कृतिक एकिकरण प्रक्रियामा भानुभक्तले दिएको योगदानलाई परिलक्षित गर्न नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्ने उद्देश्य लिएको छ ।

त्यसैगरि रम्घा डाँडामा भानुभक्तकालिन घरबस्ती, जनजीवन, रहनसहन र सामाजिक वातावरणलाई वस्तुगत वा चित्राङ्कित रुपमा प्रदर्शन गर्ने भानु साहित्य बाटिका निर्माण गरी नेपालका स्थापित कवि र साहित्यकारहरुका प्रतिमा स्थापना गर्ने, भानुभक्तका कृति, योगदान एंव नेपाली भाषा र साहित्यको अध्ययन, अनुसन्धानका निम्ति पुस्तकालय/सङ्ग्रहालय स्थापना गरी चुँदी रम्घालाई प्राज्ञिक उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने तथा भानुभक्तको जीवनीमा आधारित रही भानुभक्त बसेका, घुमेका र कवितामा वर्णन गरेका स्थानहरुलाई जोड्ने गरी भानु परिक्रमा मार्ग (भानु सर्किट) को विकास गर्ने मुख्य उद्देश्य राखेको भानु नगरपालिकाका प्रमुख त्रिपाठीले बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भानु साहित्य उद्यानको विकासको लागि गुरुयोजना निर्माण, जग्गा अधिकरण र गुरुयोजना पूर्णताको लागि आवश्यक बजेट विनियोजनको लागि बारम्बारको भेट, छलफल र पहल पश्चात गत आर्थिक वर्षमा रम्घा डाँडामा रिटेनिङ वाल निर्माण र जग्गा अधिकरणको कार्य सम्पन्न भएको थियो । हाल गुरुयोजनाको लागि करिव ४०० रोपनी जग्गा प्राप्ति भई सकेको छ ।
साथै भानु साहित्य उद्यानलाई राष्ट्रिय गौरवको आयोजनाका साथ बहुवर्षीय योजनामा लैजान भानु नगर प्रमुख, भानु साहित्य उद्यान विकास समितिद्वारा राष्ट्रपतिलाई अनुरोध गरेको थियो । सोही अनुसार सरकारले संस्कृति संरक्षण र सम्बद्र्धन कार्यक्रम अन्तर्गत तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मुर्धन्य श्रष्टाको प्रतिमा र सप्तधाम सहितको भानु साहित्य उद्यान स्थापना गर्ने घोषणा गरेको थियो ।
शिलान्यास कार्यक्रममा भानु नगरपालिकाभित्रका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सरकारी तथा गैरसरकारी संघ–संस्था, विद्यालय, नागरिक समाज, सञ्चारकर्मी तथा आम सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।













