युडब्लुएस् नेपालसँग साझेदारीपछि नारायणी आविमा विद्यार्थी संख्यामा दोब्बर वृद्धि

Devghat Online

शेयर गरौ

राजेश कार्की । तनहुँ, बैशाख २७

तनहुँको भानु नपा–५ मा अवस्थित, वि.सं२०२२ मा स्थापित श्री नारायणी आधारभूत विद्यालयले विगतमा जिर्ण कक्षा कोठा र विद्यार्थीहरुलाई सुरक्षा चुनौतीका कारण विद्यार्थी संख्या घट्दै गएको समस्या भोग्नु परेको थियो । २०८१ साल सम्म विद्यार्थी संख्या १०० भन्दा तल झरेको अवस्थामा विद्यालयले युडब्लुएस् नेपाल र स्थानीय सरकारसँग त्रिपक्षीय साझेदारी गर्दै विद्यालय सुधारको अभियान सुरु ग¥यो ।

केवल तीन महिनामा ११ कोठे भूकम्प प्रतिरोधी विद्यालय भवन, आधुनिक समावेशी/अपाङ्गमैत्री शौचालय, सुरक्षित पिउने पानीको फिल्टर प्रणाली, अतिरिक्त खेल सामग्री तथा शैक्षिक सामग्री निर्माण तथा प्राप्त गरी, विद्यालयलाई हस्तान्तरण गरियो। साथै, प्राथमिक तहका बालबालिकाको भाषिक तथा गणितीय सिप सुधारका लागि संस्थाको सहयोगमा सामुदायिक शिक्षिका र स्वयंसेवक शिक्षिका समेत नियुक्त गरियो ।

भवन निर्माण पश्चात युडब्लुएस् नेपालले शून्य शैक्षिक गरिबी अभियान केन्द्रित ५ बर्षे शैक्षिक गुणस्तर अभिवृधि कार्यक्रम यस विद्यालयमा स्थापना ग¥यो जस मार्फत संस्थाले विद्यालयको सम्पूर्ण आधारभूत स्तम्भहरुलाई बलियो बनाउन सहायता पुराउने प्रक्रियाको थालनी भयो ।

विद्यालयका शिक्षकहरुलाई आधारभूत साक्षरता, गणितीय सिप विकास, पेशागत विकास तालिम र बालबालिका सुरक्षा, समानता तथा समावेशीतामा आधारित तालिम प्रदान गरिएको छ । प्रधानाध्यापकलाई समेत विद्यालय नेतृत्व विकास तालिम दिइएको छ, जसले पाठ्य योजना प्रभावकारी बनाउने, कक्षा सुपरिवेक्षण गरी आवश्यक रचनात्मक पृष्ठपोषण प्रदान तथा पुन निरीक्षण प्रणाली र सम्पूर्ण सरोकारवालासँग समन्वय–सहकार्य बढाउने संस्कारलाई मजबुत बनाएको छ । बालबालिका सुरक्षालाई सम्पूर्ण कार्यक्रमको प्रमुख बिन्दुमा राखिएको छ ।

बालबालिकाको हकमा छात्रा समूह तथा बाल समूह गठन गरी प्रविधिको सदुपयोग, वैकल्पिक शिक्षण विधि, गृहमा स्वअध्ययन र सुरक्षा सम्बन्धी सचेतनामूलक सत्र सञ्चालन भइरहेका छन्। संस्थाको सुरक्षणको नीति अनुरुप विद्यालयमा बालबालिकाहरुको शारीरिक, भावनात्मक तथा मानसिक सुरक्षा सुनिश्चित गर्नको निम्ति संस्थाको विद्यालय परिचालक तथा शिक्षा अधिकृतले निरन्तर निगरानी र विशेस रिपोर्ट गर्ने प्रक्रिया तथा पद्धति लागु गरेका छन् । संस्थाको नीति अनुसार बालबालिकाहरु पूर्ण रुपमा सुरक्षित महसुस नगरे सम्म विद्यालयमा उच्च सिकाई उपलब्धि प्राप्त गर्न असम्भव रहेको कुरा कनिष्ट शिक्षा अधिकृत सुनील श्रेष्ठले बताए ।

अभिभावकहरुलाई आमा समूहमार्फत गृहमा बालबालिकाको पढाइमा आवश्यक सक्रिय भूमिका निर्वाह गर्ने, मोबाइल फोनको दुरुपयोग रोक्ने, प्रविधि मार्फत गृहमा सिकाईका विधि लागु गर्ने भूमिका, तथा गाली/पिटाई रहित सकारात्मक व्यवहार व्यवस्थापन गर्ने तथा विद्यालयमा सक्रिय सहभागिता वृद्धि गर्ने विषयमा निरन्तर बैठक र सत्र सञ्चालन भइरहेका छन् । बालबालिका सुरक्षा सुनिश्चित गर्न आमा समूह संग पनि सक्रिय समन्वय कायम गरिएको छ ।

साथै विद्यालय रिटेन्सन समूह गठन गरी नियमित विद्यार्थी हाजिरी सुनिश्चित गर्ने कार्यमा समेत सहायता प्रदान गरिएको छ । जोखिममा रहेका विद्यार्थीहरु पहिचान गर्ने तथा समुदायमा घरदैलो जाने कार्यमा समेत संस्थाको सक्रियता रहेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु सिम्खडा र प्रधानाध्यापक रामु अधिकारीको सक्रियता तथा स्वामित्वले कार्यक्रमलाई उच्च प्रभावकारी बनाएको छ । युडब्लुएस् नेपालका तनहुँ जिल्ला कार्यक्रम प्रमुख सिद्धार्थ योन्जनका अनुसार, विद्यालयमा गुणस्तरीय व्यवहारिक शिक्षा, सुरक्षा, समावेशिता र समानता सुनिश्चित गर्ने संस्कार कायम भएपछि अभिभावकहरू आकर्शित तथा आश्वाशित भएर निजी विद्यालयबाट आफ्ना बालबालिकालाई फर्काएर सामुदायिक विद्यालयमा ल्याउन थालेका हुन् ।

यसैको परिणामस्वरूप २०८३ शैक्षिक सत्रमा विद्यार्थी संख्या २ सय नाघिसकेको छ । हाल विद्यालयले बस भाडामा लिएर दुई ट्रिप सञ्चालन गरिरहेको छ भने विव्यस अधक्ष तथा केही शिक्षकहरुले मोटरसाइकलमार्फत विद्यार्थीलाई विद्यालय पु¥याउने जिम्मा लिएका छन् । भारत सरकारको वार्षिक अनुदानमा विद्यालय बस वितरण गर्ने परियोजनामा पनि विद्यालय मार्फत निवेदन पेश गरिएको छ । यस बिषयमा विव्यस अध्यक्ष राजु सिम्खडा अथक प्रयासका साथ लागि परेका छन् ।

समग्रमा विद्यालय व्यवस्थापन समिति, समुदाय तथा शिक्षक–शिक्षिकाको सकारात्मक सक्रियता र समर्पणले सामुदायिक विद्यालय पनि उच्च गुणस्तरको हुन सक्ने प्रमाण नारायणी आधारभूत विद्यालयले प्रस्तुत गरेको छ । यद्यपी स्थानीय सरकारको भूमिका पनि एकदम महत्वपूर्ण रहन्छ यो प्रगतिलाई प्रशासनिक तथा आर्थिक पाटो बाट सहज बनाउनको निम्ति । हाल नेपालको समग्र परिवेशमा सामुदायिक विद्यालयले भोग्नु परेको चुनौतीहरु हल गर्न सम्भव छ भन्ने उदाहरण तथा उत्साहन यस परिवर्तनको कथाले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण