तनहुँ । बैशाख २७
नेकपा एमाले जिल्ला कमिटिको बैठक आइतबार पार्टी कार्यालय दमौलीमा सम्पन्न भयो । जिल्ला अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको बताईएको छ ।



बैठकले गत प्रतिनिधि सभा निर्वाचनको परिणामको समिक्षा गर्र्दै निर्वाचनमा पार्टीका उम्मेदबारहरु पराजित हुनु परेको बारे यस अघि सम्पन्न जिल्ला भेला र दुई वटै क्षेत्रको निर्वाचन परिचालन कमिटिको बैठकको प्रतिबेदनको बारेमा छलफल गरेको थियो । बैठकले निर्वाचनको परिणामलाई अनपेक्षित भन्दै पार्टीको पुनर्जागरण गरि पार्टीलाई थम मजबुद बनाउन संगठन सुदृढिकरण गर्ने निर्णय गरेको छ ।

यसैगरि जेठ २५ गते भित्र पार्टी सदस्यको नविकरण गरिसक्ने तथा सोही अवधि भित्र नयाँ सदस्यता सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको छ । यस्तै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता र अद्यावधिकको काम भईरहेको हुँदा उमेर पुगेका नागरिकको नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्न तथा अद्यावधिक गर्नुपर्नेको हकमा अद्यावधिक गर्न सहयोग गर्ने निर्णय पनि गरेको छ ।
बैठकले पार्टी विरोधी गतिविधि गरेका जिल्ला कमिटिका सदस्यहरु दुर्गाकुमार श्रेष्ठ, विरेन्द्रबहादुर अधिकारी र गिता पाण्डेको पार्टी सदस्यता खारेज गर्ने निर्णय गरेको छ । श्रेष्ठ र अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका छन् । यस्तै जिल्ला कमिटिको सदस्यमा शुक्लागण्डकी नपा–१२ का मनराज गुरुङलाई मनोनित गर्ने निर्णय बैठकले गरेको जिल्ला सचिव प्रदिपराज अधिकारीले जानकारी दिए ।
आगामी जेठ ३ गते मदन–आश्रीत स्मृति दिवसको सन्दर्भमा जिल्ला पार्टी कार्यालयमा विचार गोष्ठी तथा देवघाट गाउँ कमिटिको आयोजनामा दासढुङ्गामा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकले नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज खगराज अधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज केदार सिग्देल लगायतले सम्बोधन गरेका थिए । बैठकको सन्चालन जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारीले र स्वागत मन्तव्य उपाध्यक्ष राजेश्वर ढकालले गरेका थिए ।












