तनहुँ । बैशाख २८
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई र रत्नहरी अस्पताल व्यास, ४ विच व्यवसायी तथा उनीहरूका परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सहकार्य तथा सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।



रत्नहरि मेमोरियल अस्पताल दमौलीका अध्यक्ष तारा प्रसाद श्रेष्ठको अध्यक्षतामा सोमबार सम्पन्न कार्यक्रममा सो सम्झौता भएको हो । सम्झौता अनुसार दमौली बजार इकाईमा आबद्ध सदस्य तथा उनीहरूका परिवारले रत्नहरि मेमोरियल अस्पतालमा उपचार गराउँदा उपचार खर्चमा १० प्रतिशत, अपरेशन खर्चमा २५ प्रतिशत तथा औषधिमा ५ प्रतिशत छुट पाउने भएका छन् ।
उक्त सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष तारा प्रसाद श्रेष्ठ र व्यवस्थापक लिलबहादुर थापा तथा उद्योग वाणिज्य संघ बजार इकाईका तर्फबाट सभापति शेषराज श्रेष्ठ र उपसभापति नारायण मल्लले हस्ताक्षर गरेका थिए ।
उक्त कार्यक्रममा इकाईका सभापति श्रेष्ठले व्यवसायी तथा सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि यस्ता सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरे । रत्नहरी अस्पतालका अध्यक्ष तारा प्रसाद श्रेष्ठले गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको बताए ।
सो कार्यक्रममा इकाईका उपसभापति नारायण मल्ल, सचिव सिमरन चन्द, सह–सचिव ठाकुर प्रसाद पौडेल, कोषाध्यक्ष तारा प्रसाद श्रेष्ठ लगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो भने अस्पतालका तर्फबाट व्यवस्थापक लिलबहादुर थापा, कृष्णा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।












