काठमाडौं । बैशाख २८
भगवान् पशुपतिनाथ र शिवगङ्गा वाग्मतीको पूजन एवं समापन यज्ञ गरि २०८२ साल चैत्र १६ गते प्रारम्भ भएको बृहत् पाशुपत पदयात्रा (चौसठ्ठी सिद्धलिङग पदयात्रा) वैशाख २८ गते सोमबार सम्पन्न भएको छ । देवघाटधाम स्थित महेश सन्न्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलका अध्यक्ष स्वामी रमणानन्द गिरिको संकल्पमा उक्त बृहत् पाशुपत पदयात्रा गरिएको थियो ।



पदयात्रा पूर्ण भएपनि यसको प्रमुख उद्देश्य राष्ट्रदेव श्रीपशुपतिनाथको गरिमा र शिवगङ्गा वाग्मतीको अविरल स्वच्छन्दप्रवाहको संरक्षण र संवर्धन गर्नुपर्ने पशुपतिनाथका सन्तति र विश्वभर रहेका सनातनीहरुको दायित्व बाँकी नै रहेको पदयात्राका संकल्पकर्ता श्री १००८ स्वामी रमणानन्द गिरिले बताए ।

बाग्मती गङ्गा अविरल रुपमा स्वच्छताका साथ निर्विघ्न रुपमा कञ्चन भएर बग्न पाउनुपर्छ र राष्ट्रको संस्कार र सभ्यताको मूल बनेर रहेका तीर्थहरुको संरक्षण एवं संबद्र्धन हुर्नुपर्ने भन्दै उनले तब मात्र हामीले राष्ट्रदेवप्रति गरेको अनादरको क्षमा प्राप्त भई पूर्णरुपमा पदयात्रा सम्पन्न हुने बताए ।
पदयात्राका संयोजक पण्डित कपिलदेव सुवेदीले ६४ शिवलिङ्गको यस किसिमको यात्रा मल्ल राजा प्रताप मल्लको पालापछि अहिले भएको बताए । पदयात्राका क्रममा काठमाडौँ वरपरका १० जिल्लाबाट तीनपटक पशुपतिनाथको परिक्रमा गरियो ।

पाशुपत पदयात्राको शुभारम्भ आदिलिंग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो । कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायत क्षेत्रमा रहेका सिद्धलिंगको दर्शनका लागि पनि पैदल यात्रा गरिएको थियो । उक्त बृहत् पाशुपत पदयात्रामा नेपाल, भारत र बर्माका साधुसन्त, धर्माचार्य तथा श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।
स्वामी रमणानन्द गिरिकै संकल्पमा यसअघि गत २०८२ जेठ–असारमा कालीगण्डकी परिक्रमा गरिएको थियो । त्यसक्रममा तनहुँको देवघाटबाट कालीगण्डकी नदीको तीरैतीर सयौँ साधुसन्त र श्रद्धालुहरू मुस्ताङको दामोदरकुण्डसम्म पैदलयात्रा गरेका थिए ।

सो अवसरमा कालीगण्डकी नदीको अस्तित्व जोगाउने उद्देश्यले देवघाटदेखि कालीगण्डकीको शिर दामोदरकुण्डसम्म पदयात्रा गरिएको थियो । ‘प्रकृति, संस्कृति र सभ्यताको आराधना, कालीगण्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुख्य संकल्प र आदर्शमा सञ्चालित पदयात्रामा २०८२ जेठ २२ गते देवघाटबाट आरम्भ भएको पैदल यात्रा चार सातापछि दामोदरकुण्डमा पुगेर सम्पन्न भएको थियो ।












