देवघाट । बैशाश २९
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा तनहुँको देवघाट गाउँपालिकाभित्रका सामुदायिक तथा गुरुकुल विद्यालयहरूले उत्कृष्ट नतिजा हासिल गरेका छन् ।




यस वर्ष देवघाट गाउँपालिकामा सामुदायिकतर्फ ९ वटा विद्यालयबाट सहभागी १६० जना विद्यार्थीमध्ये ११९ जना विद्यार्थी ग्रेडेड भई ७४.३७ प्रतिशत नतिजा हासिल भएको छ भने ४ वटा गुरुकुलबाट सहभागी ४५ जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भई शतप्रतिशत नतिजा प्राप्त भएको देवघाट गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

समग्र रूपमा सामुदायिक र गुरुकुल तर्फ दुवैमा ८० प्रतिशत नतिजा प्राप्त भएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ लामिछानेले बताए । उक्त नतिजा प्राप्त गर्नु गाउँपालिकाको लागि अत्यन्त गौरवको विषय भएको लामिछानेले बताए ।

९ वटा सामुदायिक विद्यालय मध्ये वडा नम्बर २ को आर्दश शिक्षा मावि तथा वडा नम्बर ५ को कालिका मावि र शिद्ध माहाकाली मावि तथा गुरुकुल तर्फ महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुगुल विद्यापिठ, बेदबेदाङ्ग संस्कृत गुरुकुल र कन्याहरु मात्र अध्ययन गर्ने माँ कल्याणी बैदिक कन्या गुरुकुलका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै अन्य विद्यालयको नतिजा पनि उत्कृष्ट आएको छ । सामुदायिक तर्फ वडा नम्बर ५ को बज्रयोगिनी माविका ९३.५४, वडा नम्बर ३ को बालकेश माविका ८४.६१, वडा नम्बर १ को पार्वती माविका ५२.६३, वडा नम्बर ४ को राष्ट्रिय माविका ५०, वडा नम्बर ३ को भृकुटी माविका ४६.५१ र वडा नम्बर २ को कालिगंगा माविका ३०.७६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको गाउँपालिकाले जनाएको छ ।

महेश संस्कृत गुरुकुलका एक छात्रले चार जिपिए समेत प्राप्त गरेको उक्त गुरुकुलले जनाएको छ ।












