तनहुँ । बैशाख ३१
बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा व्यवसायीद्वारा करिब ४० लाख रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गरिएको छ ।



लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले विहिबार अस्पताललाई प्रयोगशालामा आवश्यक आधुनिक मेसिन उपलब्ध गराएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल गिरीका अनुसार लायन्स क्लबले करिब २० लाख रुपैयाँ बराबरका क्लिया मेसिन र पिटीरआइएनआर मेसिन सहयोग गरेको हो । यी मेसिनबाट थाइराइड, भिटामिन डी, क्यान्सर तथा रगत जम्ने क्षमतासम्बन्धी परीक्षण गर्न सकिनेछ ।
क्लिया मेसिनमार्फत थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघरको क्यान्सर (सिए १२५), प्रोस्टेटको क्यान्सर (पिएसए) लगायत विभिन्न प्रकारका हर्मोनजन्य समस्या परीक्षण गर्न सकिने डा. गिरीले जानकारी दिए ।

त्यस्तै लोयल ट्रेडर्सले पनि करिब २० लाख रुपैयाँ बराबरका अन्य उपकरण उपलब्ध गराएको अस्पतालले जनाएको छ । जसअन्तर्गत पूर्ण रूपमा स्वचालित जैविक रसायन (बायोकेमेस्ट्री) परीक्षण मेसिन र ‘हेमाटोलोजी एनालाइजर’ मेसिन रहेको अस्पतालले जनाएको छ ।

बायोकेमेस्ट्री मेसिनमार्फत कलेजो, मिर्गौला, युरिक एसिड, एमाइलेज, लाइपेजलगायतका परीक्षण गरिन्छ । यस्तै ‘सिबिसी एनालाइजर’ ले शरीरमा रगतको मात्रा तथा रगतभित्र रहेका विभिन्न ‘सेल’ हरूको विस्तृत परीक्षण गरी रोगको पहिचान गरिने सुपरिटेन्डेन्ट डा. गिरीले जानकारी दिए ।












