देवघाट । जेठ ४
देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका सामुदायिक विद्यालयलाई सम्मान गरेको छ । एसईई परिक्षामा उत्कृष्ट अंक सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल देवघाट गाउँपालिका–५ का कालिका मावि तथा सिद्ध महाकाली माविका विद्यार्थी तथा शिक्षकहरुलाई सोमबार कालिका मावि र सिद्ध माहाकाली माविमा आयोजित छुट्टाछुट्ट्रै कार्यक्रममा गाउँपालिकाले सम्मान गरेको हो ।



कालिका माविमा आयोजित कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न खड्का, शिक्षा शाखाका प्रमुख होमनाथ लामिछाने लगायतले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेका थिए । कालिका माविबाट २३ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा सबै परिक्षार्थी उत्तिर्ण भएका थिए ।

त्यस्तै सिद्धमाहाकाली माविमा आयोजित कार्यक्रम परिक्षामा उत्तिर्ण हुने सबै १० जना विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न खडका तथा शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले विद्यार्थीहरु, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरलाई सम्मानपत्र र खादा सहित सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले एसईई परिक्षामा देवघाटको नतिजा यसवर्ष निकै उत्कृष्ट भएको भन्दै यसको हकदार व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी भएको बताए । उनले आगामी वर्षमा पनि यस्तै उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले तनहुँ जिल्ला अन्तर्गतका विद्यालयहरु मध्ये उत्कृष्ट अंक सहित देवघाट गाउँपालिका प्रथम हुन सफल भएको बताए । उनले भविष्यमा सबै विषयमा उत्कृष्ट अंक सहित विद्यार्थीहरु उत्तीर्ण गराउन अझै अनुशासित भएर सबैले मेहनत गर्नु पर्ने विषयमा जोड दिए ।
कार्यक्रममा कालिका माविको तर्फबाट सहायक प्रअ लालमणि पौडेल तथा सिद्ध महाकाली माविका विषयगत शिक्षक राजु सत्यालले सम्मान कार्यक्रमको आयोजना गरेकोमा देवघाट गाउँपालिकालाई धन्यवाद दिएका थिए ।












