विष्णु मगर । देघवाट, असार ३
देवघाट गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को अन्तिम सार्वजनिक सुनुवाई तथा प्रशासनिक कार्यप्रगति एवं सेवा प्रवाह सम्बन्धी विवरण सार्वजनिकिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।



सुशासन, पारदर्शिता र जनउत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वडा कार्यालयले वर्षभरि सम्पादन गरेका कार्यहरूको समीक्षा गर्दै नागरिकसमक्ष प्रगति विवरण सार्वजनिक गरेको हो । कार्यक्रममा वडा कार्यालयले आर्थिक वर्षभरि सञ्चालन गरिएका विकास निर्माणका योजना, बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था, प्रशासनिक उपलब्धि, सामाजिक सुरक्षा वितरण, राजस्व संकलन तथा नागरिकलाई प्रदान गरिएका विभिन्न सेवाहरूको विस्तृत विवरण सार्वजनिक गरेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै वडा अध्यक्ष पुर्णबहादुर कुँवरले नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर सेवा प्रवाहलाई प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन वडा कार्यालय निरन्तर क्रियाशील रहेको बताए । उनले सार्वजनिक सुनुवाइ जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै स्थानीयवासीबाट प्राप्त सुझाव, सल्लाह तथा गुनासाहरूलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।
वडा अध्यक्ष कुँवरले वडा कार्यालयलाई अझ बढी पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने लक्ष्यका साथ काम भइरहेको बताउँदै जनप्रतिनिधि र कर्मचारीहरू जनताको सेवक भएकाले सेवा प्रवाहलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर प्रयासरत रहेको धारणा राखे ।
कार्यक्रमका क्रममा सहभागीहरूले विकास निर्माण, सडक पूर्वाधार, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा भत्ता वितरण तथा प्रशासनिक सेवासम्बन्धी विभिन्न जिज्ञासा, सुझाव र गुनासाहरू राखेका थिए । उठाइएका प्रश्न तथा चासोहरूको वडा अध्यक्ष कुँवरले स्पष्ट जवाफ दिँदै आवश्यक सुधारका लागि पहल गरिने आश्वासन दिएका थिए ।
सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०८२/०८३ मा वडा नम्बर ५ ले पूर्वाधार विकास, सामाजिक विकास तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा उल्लेखनीय कार्यहरू सम्पन्न गरेको जनाएको छ । साथै आगामी आर्थिक वर्षमा नागरिकमैत्री सेवा प्रवाह, गुणस्तरीय विकास निर्माण तथा पारदर्शी कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

वडा अध्यक्ष कुँवरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्था, स्थानीयवासीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरु सान श्रेष्ठ, बल वहादुर क्षेत्री, केशवचन्द्र न्यौपाने, सोमनाथ ढकाल, बावुराम पौडेल, गणेश थापा, रोशन श्रेष्ठ, नरीमाया सिंजाली लगायतले विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ ले चालु आर्थिक वर्षमा सम्पादन गरेको कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । वडा नम्बर ५ अन्र्तगत २१ वटा टोल विकास संस्थाहरु सन्चालनमा रहेका छन् भने १० वटा सामुदायिक वन उपभोक्ता समिति रहेका छन् । वडा कार्यालय मार्फत ३७ वटा योजना र देवघाट गाउँपालिका बाट ५ नम्बर वडाका लागि विनियोजन भएको २३ वटा गरी जम्मा ६० वटा योजनाहरु कार्यान्वयन भएका छन् ।

त्यस्तै चालु आवको चौथो त्रैमासिक सम्ममा वडा नम्बर ५ कार्यालयबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको संख्या ७५४ रहेको छ । जसमा ज्येष्ठ नागरिक भत्ता खाने लाभग्राही ५३७, ज्येष्ठ नागरिक दलित १५ ज्येष्ठ नागरिक एकल महिला ६७, बिधुवा ९२, पूर्ण अपाङ्ग ११. अति अशक्त अपाङ्ग १५ र दलित बालबालिका १७ जना रहेका छन् ।
२०८२ साउन १ देखी २०८३ जेठ ३१ गतेसम्म व्यक्तिगत घटना दर्ता संख्या २२२ रहेकोमा जन्मदर्ता ८७, मृत्युदर्ता ५४, विवाहदर्ता ४५ सम्बन्ध विच्छेद दर्ता ४, बसाईसराई दर्ता ३२ भएका छन् । राजश्व १६ लाख ५७ हजार ५३१ संकलन भएको छ । वडामा विपद व्यवस्थापन समिति गठन भएको, भूमि सहजीकरण समिति, वडा स्तरिय शिक्षा समिति, वडा स्तरिय वाल अधिकार संरक्षण समिति र वडा स्तरिय अपाङ्गता समिति गठन भएका छन् ।

मेरुदण्ड पक्षघात, मृगौला डाइलाइसिस र क्यान्सर रोग निदान भएका विरामीहरुका लागि नेपाल सरकारबाट औषधी उपचार खर्चका लागि मासिक रुपमा रु. पाँच हजार सुविधा प्राप्त गर्ने लाभग्राही १३ जना रहेका छन् । विभिन्न कार्यालयहरुमा वडा कार्यालयबाट सिफारिस भएका पत्रहरुको चलानी संख्या १९४६ रहेको, विभिन्न संघसंस्था तथा अन्य कार्यालयहरुबाट प्राप्त पत्रहरुको दर्ता सख्या ५५ रहेको उक्त अवसरमा जनाईएको थियो ।











