विष्णु मगर । देवघाट, असार ११
गण्डकी प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको सालिग्राम करिडरको अवस्था बिजोग रहेको छ । वर्षायाम सुरु भएपछि उक्त सडकमा यात्रा गर्न नसकिने भएको छ । सो करिडोरको देवघाट गाउँपालिका वडा नम्बर ५ को देवपुरबाट वडा नम्बर १ को कोटासम्म पुग्न हिलाम्मे सडकको कारण निकै सास्ती हुने देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिराज गुरुङले बताए ।



उक्त सडकमा कालोपत्रे गर्नकोलागि तिन वटा ठेक्का सम्झौता गरिएको पनि सम्झौता अनुसारको कुनै काम भएको छैन । सालिग्राम कोरिडरको दासढुङ्गादेखि देउपुरसम्मको ६ दशमलब २ किलोमिटर दूरीमा यसअघि नै कालोपत्र कार्य सम्पन्न भैसकेको छ । तेह्र करोडको लागतमा उक्त सडक कालोपत्रे गरिएको थियो ।
तनहुँ खण्डमा पर्ने कूल ८२ किलोमिटर सडकमध्ये अव देवघाट गाउँपालिका–५ को देवघाट–देवपुर–साँढेबगर हुँदै वडा नम्बर १ को भतेरीसम्मको करिब सत्र किलोमिटर दूरीमा कालोपत्रे गर्नका लागि नयाँ ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेपनि काम भने हुन सकेको छैन । ठेकेदार पक्षले कालोपत्रको काम नगर्दा वडा नम्बर १ बासीले निकै सास्ती भोग्नु परेको वडा अध्यक्ष गुरुङले बताए ।
वडा नम्बर १ का बासिन्दा पालिकाको प्रशासककीय कार्यालय, अस्पताल तथा बजार आउन उक्त हिलाम्मे सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । वर्षायाम सुरु भएपछि उक्त सडकमा मोटरसाईकलबाट यात्रा गर्न नसकिने वडा अध्यक्ष गुरुङले बताए ।
मोटरसाईकल यात्रीहरु कालीगण्डकी करिडोरको गैँडाकोट–ढोडेनी–भोक्रेफाँट हुँदै झोलुङ्गे पुल तरेर कोटा जानु पर्ने हुन्छ ।
देवघाट–देवपुर–साढेवगर हुँदै देवघाट गाउँपालिका वडा नम्बर १ को कोटा जाने सडक खण्डका विभिन्न स्थानमा अत्यधिक हिलो भएकाले उक्त मार्गबाट यात्रा गर्दा विशेष सावधानी अपनाउन वडा अध्यक्ष गुरुङले अनुरोध गरे ।
शालिग्राम करिडोर देवघाटको दासढुङ्गाको पुलबाट देउपुर, कोटा, रुपटार, मानपुर, डेढगाउँ, बैदी हुदै पाल्पाको रामपुर र स्याङ्जा जिल्ला जोड्छ । कालिगन्डकी करिडोरबाट पाल्पा र स्याङ्जालाई तनहुँसँग जोडेपछि त्यसपछि शालिग्राम करिडोर सुरु हुन्छ ।












