अब उप्रान्त कुनै पनि आवधिक निर्वाचनमा पुनः उम्मेदवारी नदिने
तनहुँ । साउन ४



तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपानेले राज्यबाट प्राप्त हुने आफ्नो तलब–भत्ता र स्वकीय सचिवको पारिश्रमिक बापतको रकम तनहुँका जनताको सेवा र सामाजिक कार्यमा लगाउने घोषणा गरेका छन् । सांसद न्यौपानेले साउन ३ गते आइतबार एक सार्वजनिक वक्तव्य जारी गर्दै आफूले पाउने सरकारी सेवा–सुविधा व्यक्तिगत लाभका लागि प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
यसअघि आफुले प्रतिनिधि सभामा उम्मेदवारी दिनुअघिदेखि नै आफ्नै निजी स्रोतबाट स्वकीय सचिवलाई पारिश्रमिक उपलब्ध गराउँदै आएकोमा अब सरकारबाट नै स्वकीय सचिवको सुविधा उपलब्ध हुन थालेकाले सो रकम स्वकीय सचिव स्वयंले बुझ्ने व्यवस्था गरिएको न्यौपानेले जनाएका छन् । यसअघि स्वकीय सचिवका लागि खर्चँदै आएको रकम बराबरको रकम अब आफ्नो व्यक्तिगत आम्दानीबाट जन्मथलो तथा स्थायी ठेगाना रहेको तनहुँ क्षेत्र नम्बर १ का जनताको हित र सामाजिक÷जनसेवामूलक कार्यमा उपयोग गर्ने उनले बताएका छन् ।

त्यसैगरी, जनप्रतिनिधिका रूपमा राज्यकोषबाट पाउने आफ्नो सम्पूर्ण तलब–भत्ता बराबरको रकम तनहुँ क्षेत्र नम्बर २ का जनताको आवश्यकता, विकास र प्राथमिकताका क्षेत्रमा समर्पित गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने सांसद न्यौपानेले स्पष्ट पारेका छन् ।
आफ्नो वक्तव्यमा सांसद न्यौपानेले सार्वजनिक रूपमा व्यक्त गरेका अन्य प्रमुख प्रतिबद्धताहरू पनि स्मरण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि कुनै पनि सरकारी ठेक्का–पट्टामा संलग्न नभएको र नहुने उनले बताएका छन् ।
त्यस्तै गत निर्वाचनमा कुनै पनि व्यक्ति वा संस्थाबाट आर्थिक सहयोग नलिई आफ्नै व्यवस्थापनमा चुनाव लडेको भन्दै उनले प्रत्येक तीन–तीन महिनामा स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै समस्या सुन्ने कार्य जारी राखेको पनि जनाएका छन् ।
तनहुँ जिल्ला भित्र अधिकतम पुँजीगत खर्च सुनिश्चित गर्न साउन महिनादेखि नै प्रत्येक तीन–तीन महिनामा विकास निर्माणको प्रगति विवरण सार्वजनिक गर्ने तथा अनुगमन गर्ने तथा सार्वजनिक पदमा रहँदा पारदर्शिता, इमानदारी र जनउत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राखेर अघि बढ्ने सांसद न्यौपानेले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरि सांसद न्यौपानेले अब उप्रान्त कुनै पनि आवधिक निर्वाचनमा पुनः उम्मेदवारी नदिने महत्वपुर्ण घोषणा समेत गरेका छन् ।












