देवघाट । साउन ७
देवघाट गाउँपालिका–५ साउने स्थित जलदेवी टोल निवासी २८ वर्षीय मिमलाल भुजेल करिब एक वर्षदेखि मृगौला फेल भएपछि नियमित उपचार गराइरहेका छन् । तर कमजोर आर्थिक अवस्थाले उपचारलाई निरन्तरता दिन समेत कठिन भएको छ । एकातिर रोगसँगको संघर्ष, अर्कोतिर उपचार खर्च जुटाउने चिन्ता, यी दुई पीडाबीच मिमलालको परिवार प्रत्येक दिन आशा र निराशाको दोसाँधमा उभिएको छ ।



देवघाट–५ देवपुर निवासी तथा हाल रोजगारीका सिलसिलामा अष्ट्रेलियामा रहेका जीवन गुरुङले मिमलाल भुजेलको उपचारका लागि रु. १० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।
सहयोग प्रदान गर्दै गुरुङले भने, ‘विदेशमा बसे पनि आफ्नै गाउँका मानिसको दुःखले मन छोइरहन्छ । बिरामीको पीडा सबैको साझा पीडा हो । मेरो यो सहयोग सानो भए पनि उपचारमा केही राहत पुग्ने विश्वास गरेको छु । म सबै सहयोगी मनहरूलाई पनि आफ्नो क्षमता अनुसार सहयोग गरेर एउटा जीवन बचाउने अभियानमा सहभागी हुन हार्दिक आग्रह गर्दछु ।’

उपचारका लागि ठूलो रकम आवश्यक पर्ने र परिवारको आर्थिक स्रोत अत्यन्त कमजोर भएकाले भुजेलले सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गरिदिन भावुक अपिल गरेका छन् । उनले भने, ‘तपाईंहरूको सानो सहयोगले पनि मेरो उपचारलाई निरन्तरता दिन र जीवन बचाउन ठूलो आधार मिल्नेछ ।’
स्थानीयवासीहरूले जीवन गुरुङको मानवीय कार्यको प्रशंसा गर्दै यस्ता सहयोगले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने बिरामीहरूमा नयाँ आशा जगाउने बताएका छन् ।
मृगौला रोगसँग संघर्ष गरिरहेका मिमलाल भुजेलको उपचारमा सहयोग गर्न इच्छुक सबैलाई मानवीय भावना र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न स्थानीयले आग्रह गरेका छन् । कसैको सानो सहयोगले पनि एउटा परिवारको आशा जीवित रहन सक्छ र एउटा जीवन बचाउन सकिने हुनाले स्थानियले सहयोग गर्न अपिल गरेका छन् ।










