देवघाटको महेश सन्यास आश्रममा ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ हुने

Devghat Online

शेयर गरौ

देवघाट । साउन ७

पवित्र तीर्थस्थल देवघाटधामस्थित महेश सन्यास आश्रमको आयोजनामा आगामी साउन ९ गतेदेखि १४ गतेसम्म ‘गुरुपूर्णिमा एवं नवौँ गुरुनिर्वाण महोत्सव २०८३’ भव्य रूपमा आयोजना हुने भएको छ । आश्रमले ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको नवौं निर्वाण महोत्सव साताव्यापी रुपमा विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।
साउन गतेदेखि सुरु भई साउन १४ गतेसम्म सञ्चालन हुने सो साताव्यापी महोत्सव अन्तर्गत देशका विभिन्न स्थानमा धार्मिक, सांस्कृतिक तथा प्राज्ञिक कार्यक्रमहरू सञ्चालन गरिने आश्रमले जनाएको छ ।

महोत्सवअन्तर्गत साउन ९ र १० गते देवघाट स्थित महेश संस्कृत गुरुकुलमा ‘रामानन्द प्रज्ञा शास्त्रसभा’ आयोजना गरिनेछ । त्यस्तै साउन ११ गते काठमाडौँस्थित शङ्कराचार्य मठ, पशुपतिमा ‘पशुपति आराधना रुद्राभिषेक’ सञ्चालन हुनेछ । साउन १२ गते त्रिशक्ति एकादशी समाज र शङ्कराचार्य मठ, पशुपतिको सहकार्यमा ‘सामूहिक सौन्दर्यलहरी–स्तोत्र गायन सभा’ हुनेछ ।

त्यस्तै साउन १३ गते गुरुपूर्णिमाको दिन बिहान ७ देखि ११ बजेसम्म शङ्कराचार्य मठ काठमाडौं र बिहान ८ देखि १२ बजेसम्म देवघाटधाममा ‘व्यासपूजन एवं गुरुपूजन’ कार्यक्रम गरिने छ भने साउन १४ गते महेश सन्यास आश्रम, देवघाटमा ‘गुरुस्मृति सभा तथा समष्टि भन्डारा’ आयोजना गरी महोत्सवको समापन गरिने महेश सन्यास आश्रम देवघाटले जनाएको छ ।

धार्मिक तथा प्राज्ञिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस महोत्सवमा सहभागी भई पुण्य लाभ लिन महेश संन्यास आश्रमले सम्पूर्ण भक्तजन, श्रद्धालु तथा धर्मानुरागीहरूमा हार्दिक निमन्त्रणासमेत गरेको छ ।

वि.सं २००३ सालमा धादिङ्गको केवलपुरमा जन्मिएका डा.स्वामी रामानन्द गिरि तीनधारा संस्कृत पाठशालाबाट प्रारम्भिक अध्ययन सुरु गरेर वाराणसीमा वेदान्त दर्शन अध्ययन गरी त्रिभुवन विश्वविद्यालयबाट जनक दर्शनमा विद्यावारिधि प्राप्त हुन् । वाराणसीमा अध्यापन गराइरहेका रामानन्द गिरि नेपाल फर्किएर तीनधारा पाठशालमामा केही समय अध्यापन गराएपछि सरकारी जागिर छोडेर राष्ट्रसेवा गर्ने उद्देश्यले देवघाटमा वि.सं २०५० सालमा महेश संन्यास आश्रम, महेश संस्कृत गुरुकुलको स्थापना गरे । उनी अम्बरेश्वर संन्यास आश्रम, पुरन्चौर, कास्कीका संस्थापक हुन् । जसको फलस्वरूप आज नेपालभरी गुरुकुलशिक्षाले गति लिएको देख्न सकिन्छ ।

डा.गिरिका जनकदर्शन (विद्यावारिधि शोधग्रन्थ), माण्डूक्यकारिका (नेपाली अनुवाद तथा व्याख्या), रामगीता (नेपाली अनुवाद तथा व्याख्या), वेदस्तुति (नेपाली अनुवाद तथा व्याख्या), श्रीमद्भागवतमहापुराण (१–८ खण्डमा) (नेपाली अनुवाद–रामानन्दी टीका), देवीगीता (नेपाली अनुवाद तथा व्याख्या), दुर्गासप्तशती (नेपाली अनुवाद एवम् व्याख्या), दक्षिणामूर्तिस्तोत्रम् (नेपाली अनुवाद एवम् व्याख्या), श्री शिवमहिम्नः स्तोत्रम् (नेपाली अनुवाद एवम् व्याख्या) र ईशादि दश उपनिषद् (नेपाली अनुवाद एवम् व्याख्या) प्रकाशित छन् ।

महेश संस्कृत गुरुकुलमा वैदिककालीन गुरुकुल अनुरूप पाठशाला, धर्मशाला, गौशाला, यज्ञशाला र पाकशाला सञ्चालनमा रहेका छन् । धर्म, संस्कार, संस्कृति तथा संस्कृत शिक्षाको उन्नयनमा गुरुकुलले उल्लेख्य भूमिका खेलेको देख्न सकिन्छ । रामानन्द गिरिले वि.सं २०७४ असार २४ गते गुरुपूर्णिमाका दिन पाञ्चभौतिक शरीर त्याग गरी शिवसायुज्य प्राप्त गरेका थिए । त्यसैले हरेक गुरुपूर्णिमाको अवसरमा नै गिरिको निर्वाण महोत्सव मनाउने गरिएको आश्रमले जनाएको छ । धर्म–संस्कारप्रति आस्था राख्ने र गुरुकुलको उन्नयन चाहने सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्वाण महोत्सवमा सहभागिताको आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाको चेतावनीः साउन १५ भित्र सडक पेटीका अवैध संरचना नहटाए नगरपालिका आफैँले हटाउने

तनहुँ । साउन ६ तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रका सडक पेटी मिचेर बनाइएका अनधिकृत संरचनाहरू

बन्दीपुरको मुकुन्देश्वरी पदमार्ग ‘मिनी ग्रेटवाल’ मा नेकपाको सरसफाइ कार्यक्रम सम्पन्न

तनहुँ । साउन ६ प्रसिद्ध पर्यटकीय स्थल बन्दीपुरको मुख्य आकर्षणका रूपमा रहेको मुकुन्देश्वरी पदमार्ग (मिनी