तनहुँ । साउन ७
तनहुँको व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा ‘राजनीतिशास्त्र र दलको भूमिका’ विषयक एकदिवसीय प्राज्ञिक गोष्ठी आयोजना हुने भएको छ । पोलिटिकल साइन्स सोसाइटी नेपाल (पोसन) र आदिकवि भानुभक्त क्याम्पसको संयुक्त आयोजनामा आगामी साउन १७ गते आइतबार उक्त कार्यक्रम हुन लागेको हो ।



क्याम्पसको सभाहलमा बिहान ८ः०० बजेदेखि सुरु हुने गोष्ठीमा दुईवटा महत्वपूर्ण अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछ । ‘राजनीतिशास्त्र शिक्षाको आवश्यकता र महत्व’ विषयमा त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभागका प्रा.डा महेन्द्र सापकोटाले कार्यपत्र प्रस्तुत गर्नेछन् भने ‘बदलिँदो परिवेशमा राजनीतिक दलहरूको भूमिका’ विषयमा त्रिवि राजनीतिशास्त्र विभागकी प्रमुख प्रा.डा. ईश्वरी कँडेलले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नेछिन् ।
कार्यक्रममा त्रि.वि.केन्द्रीय विभाग तथा पृथ्वीनारायण क्याम्पस, पोखराका विशिष्ट प्राध्यापकहरूसहित स्थानीय राजनीतिक दल तथा तिनका भ्रातृ संगठनका प्रतिनिधि, सामाजिक–शैक्षिक संस्थाका प्रमुख, प्राध्यापक, विद्यार्थी र शिक्षाप्रेमीहरू गरी करिब १६० जनाको सहभागिता रहने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । दुवै सत्रको प्रस्तुतिपछि सहभागीहरूबीच खुला प्रश्नोत्तर तथा अन्तरक्रियासमेत सञ्चालन गरिनेछ ।

उच्च शिक्षामा राजनीतिशास्त्रको सान्दर्भिकता, लोकतान्त्रिक मूल्य–मान्यता र वर्तमान सामाजिक–राजनीतिक परिवेशमा दलहरूको उत्तरदायित्वबारे विश्लेषणात्मक बहस चलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको क्याम्पस प्रमुख हड्खलेले बताए ।
आयोजक संस्था ‘पोसन’ का महासचिव मिलन आलेका अनुसार यस्ता प्राज्ञिक अभ्यासले विद्यार्थीहरूमा अनुसन्धानमुखी सोचको विकास गर्नुका साथै समुदायस्तरमा समसामयिक विषयमा प्राज्ञिक चेतना अभिवृद्धि गर्न र स्थानीय सरोकारवालाहरूबीच संवादको वातावरण बनाउन महत्वपूर्ण योगदान पुग्नेछ ।
यसैबीच, बिहीबार क्याम्पसमै क्याम्पस प्रमुख, पोसनका महासचिव मिलन आले, सहायक क्याम्पस प्रमुख एवं मानविकी विभाग प्रमुख विमल गिरी र राजनीतिशास्त्रमा स्नातकोत्तर हासिल गरेका युवा राजनीतिज्ञ सुमन थापाबीच गोष्ठीको पूर्वतयारीबारे छलफल सम्पन्न भएको छ ।
आदिकवि भानुभक्त क्याम्पसले यसै शैक्षिक सत्रदेखी स्नातक तहमा राजनीतिशास्त्र विषय अध्यापन गराउने भएको छ ।











