विष्णु मगर । देवघाट, साउन ८
जीवनको सबैभन्दा उर्वर र सक्रिय उमेर–२८ वर्ष । यही उमेरमा धेरैले परिवारको आर्थिक भार सम्हाल्छन्, नयाँ सपना बुन्छन् र भविष्य निर्माणमा लाग्छन् । तर तनहुँको देवघाट गाउँपालिका–५, जलदेवी (साउने) निवासी २८ वर्षीय मिमलाल भुजेलको जीवनमा भने नियतिले उल्टो मोड ल्याइदिएको छ ।



परिवारको सहारा बन्नुपर्ने उमेरमै उच्च रक्तचापको सामान्य लापरबाहीका कारण मिमलाल दुवै मिर्गौला फेल भई थला परेका छन् । करिब एक वर्षदेखि अस्पतालको बेडमा जीवन बचाउने कठिन संघर्ष गरिरहनुभएका उहाँलाई अहिले परिवारकै सहारा आवश्यक परेको छ ।
‘मैले उच्च रक्तचाप (प्रेसर) लाई सामान्य सम्झिएँ, समयमै जाँच र उपचार गरिनँ। आज त्यसकै परिणामस्वरूप मेरो मिर्गौलाले साथ छोड्यो’ आँखा रसाउँदै मिमलाल भन्छन् ‘मेरो जस्तो पीडा कसैले भोग्न नपरोस्, सबैले समय–समयमा प्रेसर र सुगर अनिवार्य जाँच गराउनुहोला ।’

लामो समयदेखि निरन्तर उपचार गराउनुपर्दा भुजेल परिवार गम्भीर आर्थिक संकटमा फसेको छ । अहिले मिमलालको उपचार, घर खर्च र औषधिको सम्पूर्ण जिम्मेवारी उहाँकी श्रीमतीको काँधमा छ । दैनिक ज्यालामजदुरी गरेर आएको रकमले औषधिको खर्चसमेत धान्न नसकेपछि परिवार ऋणमाथि ऋणको भारी बोक्न बाध्य भएको छ ।
‘श्रीमतीले पसिना बगाएर कमाएको पैसाले औषधिको खर्च पनि पुग्दैन। ऋणको बोझ दिनप्रतिदिन बढ्दै गएको छ’ मिमलाल भन्छन् ‘अब सहयोगी हातहरूबाहेक मेरो जीवन बचाउने अर्को कुनै विकल्प देखिएको छैन ।’
मिमलालको यो जीवन–मरणको संघर्ष केवल एउटा बिरामीको पीडा मात्र होइन, सम्पूर्ण समाजका लागि समयमै स्वास्थ्य परीक्षण गराउनुपर्ने गम्भीर चेतावनी पनि हो । चिकित्सकहरूका अनुसार नियन्त्रणबाहिर रहेको उच्च रक्तचाप र मधुमेह (सुगर) मिर्गौला फेल हुने प्रमुख कारण हुन् । सानो सतर्कता र समयमै नियमित जाँच गराउन सके यस्ता जटिल अवस्थाबाट बच्न सकिन्छ ।
कठिन परिस्थिति र चरम आर्थिक अभावका बाबजुद मिमलालले जीवन जिउने आशा मारेका छैनन् । ‘यदि उपचार पाएर मैले नयाँ जीवन पाएँ भने, म पनि भविष्यमा यस्तै पीडामा परेका बिरामीहरूको सेवामा उभिनेछु ।’ उनी भन्छन् ।
आफ्नो ज्यान बचाउनका लागि मिमलालले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली, समाजसेवी, संघ–संस्था तथा सहयोगी मनहरूसँग आर्थिक सहयोगको भावुक अपिल गरेका छन् । एउटा सानो सहयोगले उनको उपचार मात्र नभई एउटा सिङ्गो परिवारको टुट्न लागेको आशा र भविष्य बचाउन सक्नेछ ।












