देवघाट । साउन ३१
आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल विकास संस्था (साउने) निवासी २८ वर्षीय मिर्गौला पीडित मिमलाल भुजेलका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ ।



अत्यन्तै नाजुक आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन धौ–धौ परेका भुजेललाई सहयोग गर्न विभिन्न सामाजिक संघसंस्था र व्यक्तिगत रूपमा सहयोगी हातहरू अगाडि बढेका हुन् ।
उनको उपचारकोलागि हालसम्म राइजिङ स्टार नयाँबस्ती, देवघाटबाट ९ हजार, किशोर पौडेल (देवघाट निवासी, हाल अमेरिका)बाट ५ हजार, विर्खबहादुर भुजेल (देवघाट–४, हाल मलेसिया) बाट ४ हाजर ९५८ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
उक्त सहयोग हस्तान्तरण गर्दै राइजिङ स्टार क्लबका अध्यक्ष अमरबहादुर फेवाली मगरले रकम सानो भए पनि पीडामा परेका व्यक्तिलाई ‘हामी साथमा छौँ’ भन्ने अनुभूति गराउनु मुख्य उद्देश्य रहेको बताए । उनले कुनै एक संस्थाको प्रयासले मात्र पर्याप्त नहुने भएकाले मिमलालको जीवन रक्षाका लागि समाजका सबै पक्ष, स्थानीय तह तथा देश–विदेशमा रहेका नेपालीहरू एकजुट भई सहयोग गर्न अपिल गरे ।
भुजेलको थप उपचारका लागि अझै ठूलो रकम आवश्यक पर्ने भएकाले स्थानीय सरकार, सामाजिक संघ–संस्था, व्यवसायी, समाजसेवी तथा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई आर्थिक सहयोगका लागि भुजेल परिवारले अपिल गरेको छ ।












