घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १७

व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ वातावरण तथा अभिभावकको भूमिकाबारे प्रत्यक्ष जानकारी लिन घरदैलो शैक्षिक अभियान सञ्चालन गरेको छ ।

विद्यार्थीले घरमा कसरी अध्ययन गरिरहेका छन्, पढाइका लागि कस्तो वातावरण पाएका छन्, गृहकार्यमा अभिभावकको सहयोग कस्तो छ तथा सिकाइका क्रममा देखिएका समस्या के–कस्ता छन् भन्ने विषयमा जानकारी लिन विद्यालय परिवार विद्यार्थीका घरमै पुगेको हो ।

विद्यालयले पहिलो चरणमा शान्ति टोल र सिखर्दी टोल तथा दोस्रो चरणमा डाडाबारी र कोटगाउँबाट घरदैलो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षले अभिभावकसँग प्रत्यक्ष भेटघाट गरी विद्यार्थीको पढाइ, विद्यालयमा नियमितता, गृहकार्य गर्ने बानी, अध्ययनप्रतिको रुचि तथा घरमा भइरहेको शैक्षिक सहयोगका विषयमा छलफल गरेका थिए ।

घरदैलो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किशोर सुनाम, सहायक प्रधानाध्यापक मधुमाया रानाभाट तथा शिक्षकहरू कविता आले, बिदुर राना, ईश्वर बास्तोला, बलिसरा थापा र मिना थापा सहभागी थिए । भेटघाटका क्रममा अभिभावक नानीमाया राना, दुर्गाबहादुर राना, देबुका थापा र छलिमाया रानाले आफ्ना बालबालिकाको शैक्षिक अवस्थाबारे विद्यालय परिवारलाई जानकारी गराएका थिए । उनीहरूले बालबालिकाको पढाइमा देखिएको प्रगति, अध्ययनका क्रममा देखिएका कठिनाइ, पढाइप्रतिको रुचि तथा घरबाट गर्न सकिने सहयोगका विषयमा आफ्ना अनुभव र धारणा राखेका थिए ।

विद्यालय परिवारले विद्यार्थीको सिकाइमा कक्षाकोठाको वातावरणसँगै घरको वातावरणको पनि महत्वपूर्ण भूमिका रहने विषयमा अभिभावकसँग छलफल गरेको थियो । बालबालिकालाई नियमित विद्यालय पठाउने, घरमा पढ्ने समय निर्धारण गर्ने, गृहकार्यमा आवश्यक सहयोग गर्ने तथा उनीहरूको दैनिक शैक्षिक गतिविधिप्रति चासो राख्न अभिभावकलाई आग्रह गरिएको थियो ।

प्रधानाध्यापक किशोर सुनामले विद्यार्थीको शैक्षिक विकासका लागि विद्यालय र अभिभावकबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताए । विद्यार्थीको पढाइमा देखिएका समस्या समयमै पहिचान गरी विद्यालय र परिवारले मिलेर समाधान खोज्न सके सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याउन सकिने उनको भनाइ छ ।

विद्यालयका शिक्षकहरूका अनुसार घरदैलो अभियानले विद्यार्थीको वास्तविक सिकाइ अवस्था, समस्या र आवश्यकताबारे नजिकबाट बुझ्ने अवसर दिएको छ । कक्षाकोठामा गरिएको मूल्याङ्कनसँगै घरको वातावरण र अभिभावकको भूमिकाबारे जानकारी प्राप्त हुँदा विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनीहरूको विश्वास छ ।

विद्यालयले घरदैलो अभियानलाई विद्यार्थीको पढाइको अवस्था बुझ्ने कार्यक्रमका रूपमा मात्र नभई विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीचको शैक्षिक सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ ।

विद्यार्थीको शैक्षिक विकासमा विद्यालय र परिवार दुवैको महत्वपूर्ण भूमिका रहने भएकाले अभिभावकसँगको नियमित संवाद, घरको अध्ययन वातावरणमा सुधार तथा विद्यार्थीप्रतिको निरन्तर चासोले सिकाइ उपलब्धि बढाउन महत्वपूर्ण योगदान पु¥याउने विद्यालयको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोसी बाढीमा परि भानु नगरपालिकाका १४ जना नागरिक वेपत्ता, वेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाको अनुरोध

तनहुँ । भदौ १६ गत भदौ १० गते रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी

कालिका माविका विद्यार्थीहरुद्वारा बाढी पीडितलाई सहयोग

देवघाट । भदौ १६ देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढीपीडितहरूको सहयोगार्थ