तनहुँ । भदौ १७
तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्ने उद्देश्यले नयाँ भक्ति भजन ‘कृष्ण कृष्ण’ सार्वजनिक गरिएको छ । स्थानीय धार्मिक सम्पदाको संरक्षण, प्रचार–प्रसार तथा धार्मिक पर्यटन प्रवर्धनलाई केन्द्रमा राखेर भजन तयार पारिएको हो ।



व्यासभूमिका अध्येता तथा लेखक काशीनाथ न्यौपानेको विशेष प्रस्तुति एवं शब्द रचनामा तयार भएको भजनको निर्देशन बि.बि.क्षेत्रीले गरेका छन् । भजनमा चर्चित ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे’ महामन्त्रलाई समेत भक्तिमय शैलीमा समेटिएको छ ।
चर्चित गायिका समीक्षा अधिकारी र गायक नवराज थापाको सुमधुर स्वर रहेको ‘कृष्ण कृष्ण’ लाई गत भाद्र १० गतेको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूप्रति समर्पित गरिएको निर्माण पक्षले जनाएको छ । विपत्तिको पीडामा रहेका नागरिकलाई आत्मिक शान्ति, धैर्य र सकारात्मक ऊर्जा प्रदान गर्ने सन्देश समेत भजनमार्फत दिन खोजिएको छ ।
पौराणिक मान्यताअनुसार व्यास ऋषिको तपोभूमि व्यास गुफा र पराशर ऋषिको साधना क्षेत्र पराशर आश्रमको धार्मिक महिमालाई उजागर गर्दै यी दुई क्षेत्रबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई भजनमा प्रस्तुत गरिएको छ । भजनको भिडियो व्यास–पराशर क्षेत्रका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक स्थलमा छायाङ्कन गरिएको छ ।
भिडियोमा सुदिप पौडेल, स्वस्तिका अर्याल, नवराज थापा र कोपिला थापाको अभिनय रहेको छ । सुसन पन्थले छायाङ्कन तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
धार्मिक आस्था र आध्यात्मिक सन्देशलाई स्थानीय इतिहास, संस्कृति र प्रकृतिसँग जोडिएको ‘कृष्ण कृष्ण’ ले व्यास–पराशर क्षेत्रको पहिचानलाई देश तथा विदेशसम्म पु¥याउन योगदान गर्ने अपेक्षा गरिएको छ । साथै, ओझेलमा परेका धार्मिक सम्पदाको संरक्षण, प्रचार तथा स्थानीय धार्मिक पर्यटनको विकासमा समेत भजनले सकारात्मक भूमिका खेल्ने विश्वास लिइएको छ ।












