देवघाट क्षेत्र विकास समितिद्वारा परिचयात्मक कार्यक्रमः देवघाटको धार्मिक प्रबद्र्धन, संरक्षण, विकासमा सबैसँग सहकार्य गर्ने

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, भदौ १८

धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले नेपालकै महत्वपूर्ण तीर्थस्थल देवघाटधामको संरक्षण, विकास र व्यवस्थित व्यवस्थापनलाई नयाँ गति दिने उद्देश्यसहित गठित देवघाट क्षेत्र विकास समितिले परिचयात्मक, सम्मान तथा सुझाव–सल्लाह कार्यक्रम सम्पन्न गरेको छ ।

क्षेत्र विकास समितिमा नयाँ पदाधिकारी र कार्यकारी निर्देशक आएसँगै समितिले देवघाट गाउँपालिकाका जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, राजनीतिक दल, धार्मिक तथा सामाजिक संघ संस्था, विभिन्न संघ संस्था, आमा समुह, सन्चारकर्मी लगायतसँग परिचयात्मक कार्यक्रमसँगै अन्तरक्रिया पनि गरेको हो । उक्त कार्यक्रममा सहभागीहरुले देवघाटको विगत र वर्तमान अवस्था तथा भविष्यको सम्भावनाबारे चासो व्यक्त गर्दै देवघाटको समग्र विकासका लागि साझा संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट क्षेत्र विकास समितिले काम नै गरेन भन्ने आरोप यथार्थपरक नभएको भन्दै मठ मन्दिरको संरक्षणदेखि शवदाहका लागि विद्युत् मेसिन व्यवस्थापनलगायत थुप्रै महत्वपूर्ण काम सम्पन्न भएको बताए । देवघाटको विकास सरकार वा एउटा संस्थाले मात्र गर्ने विषय होइन भन्दै अध्यक्ष यहाँका नागरिक, धार्मिक संस्था र सरोकारवालाको साझा जिम्मेवारी भएको बताए । अध्यक्ष थापाले देवघाटमा विकास नै भएन भन्ने धारणा भ्रमपूर्ण रहेको बताउँदै शिक्षा, स्वास्थ्य, सामुदायिक वन, धार्मिक शिक्षा तथा गुरुकुलीय शिक्षाको क्षेत्रमा देवघाटले महत्वपूर्ण प्रगति गरेको उल्लेख गरे ।  उनले देवघाट क्षेत्र विकास समितिको कार्यक्षेत्रभित्र पर्ने विभिन्न जिल्लाका जनप्रतिनिधि तथा सरोकारवालालाई एकै ठाउँमा राखेर देवघाटको दीर्घकालीन विकासका विषयमा साझा छलफल गर्नुपर्नेमा विशेष जोड दिए ।

कार्यक्रमको अध्यक्षता गर्दै देवघाट क्षेत्र विकास समितिका नवनियुक्त अध्यक्ष भवानीप्रसाद तिमिल्सिनाले विगतका नेतृत्वले हासिल गरेका अनुभव नयाँ कार्यसमितिका लागि मार्गदर्शन बन्न सक्ने बताए । ‘अग्रजहरूले गरेका काम, भोगेका चुनौती र सिकेका पाठलाई नयाँ पुस्ताले व्यवहारमा उतार्न सक्यो भने मात्र देवघाटको मुहार फेरिन सक्छ’ उनले भने, ‘हामीले प्राप्त भएका हरेक सल्लाह र सुझावलाई गम्भीरतापूर्वक मनन गर्दै देवघाटको भविष्य निर्माणमा लाग्नेछौँ ।’ पवित्र भूमि देवघाटधामको भविष्यलाई कसरी अझ व्यवस्थित, सुरक्षित र विश्वसामु परिचित बनाउने भन्ने विषयलाई लिएर सल्लाह शुझाव ग्रहण गर्नको लागी उक्त कार्यक्रम गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवघाटको विकास र व्यवस्थापनलाई सूचना प्रविधिसँग जोड्नुपर्ने धारणा राख्दै महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलमा क्यूआर कोड राखेर यात्रु तथा पर्यटकलाई मोबाइलमार्फत आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिए ।

देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष डा.ईश्वरीराज लौडारीले समितिको आफ्नै स्पष्ट कानुन, नियम र अधिकार नभएसम्म जनअपेक्षाअनुसार काम गर्न कठिन हुने बताए ।

समितिका पुर्वअध्यक्ष शिवराज पौडेलले देवघाटको सूचना व्यवस्थापनलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने सुझाव दिँदै पवित्र वेणी सङ्गमलाई स्वच्छ, निर्मल र प्राकृतिक रूपमा जोगाउनुपर्ने बताए । उनले देवघाटलाई चौबीसै घण्टा उज्यालो बनाउँदै तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित र सहज वातावरण दिनुपर्ने आवश्यकता औँल्याए । पौडेलले उनले बाँदर आतंकका कारण तीर्थयात्री तथा भक्तजनको आगमनमा असर पर्न सक्ने भन्दै यसको प्रभावकारी नियन्त्रण आवश्यक रहेको बताए ।

क्षेत्र विकास समितिका पूर्व अध्यक्ष प्रा.डा.गुरुप्रसाद सुवेदीले संस्थाले आफ्नो क्षमता र प्राथमिकता स्पष्ट गरेर योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताए । धर्मशालामा बसोबास र खानपानको सहज तथा व्यवस्थित वातावरण बनाउन सके देवघाटको प्रचारका लागि छुट्टै ठूलो प्रयास गर्न नपर्ने उनको धारणा थियो ।

समितिका पूर्व कार्यकारी निर्देशक सदन बरालले विभिन्न क्षेत्रका विज्ञ, अनुभवी व्यक्ति र सरोकारवालाबीच निरन्तर अनुभव आदानप्रदान हुनुपर्ने बताए । देवघाट क्षेत्र विकास समितिको आफ्नै छुट्टै कानुन नहुँदा जनअपेक्षाअनुसार काम गर्न कठिन भएको उल्लेख गर्दै उनले सहकार्यको वातावरणबाट विकासका कामलाई गति दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक पुकार भट्टले देवघाटका सबै सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरि काम गरिने बताए । उनले देवघाटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न क्षेत्र विकास समितिले सबैसँग सहकार्य गर्ने बताए ।

उक्त कार्यक्रममा गणेश थापा, कृष्ण चैतन्य, सागर शर्मा, बुद्धिबल पाण्डे, जयकृष्ण सुवेदी, अनिल मिश्र, रामहरी पुडासैनी, रक्षा कार्की, सावित्री न्यौपाने, सुकु गुरुङ तथा रामनाथ मिश्रलगायतले देवघाटको विकास, व्यवस्थापन र सुधारका विषयमा सुझाव राखेका थिए ।

सहभागीहरूले देवघाटमा बढ्दो बाँदर आतंक नियन्त्रण गर्नुपर्ने, मेलाका समयमा अव्यवस्थित रूपमा आउने तथाकथित जोगीहरूको गतिविधि नियन्त्रण गर्नुपर्ने तथा जोगीको भेषमा हुन सक्ने अवाञ्छित गतिविधिप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै, वेणी सङ्गम क्षेत्रमा नियमित सरसफाइ र फोहोर व्यवस्थापन गर्नुपर्ने, सङ्गमको धार्मिक तथा पर्यटकीय महत्व जोगाउन विशेष योजना बनाउनुपर्ने तथा स्नान गर्न आउने भक्तजनका लागि व्यवस्थित बसपार्क, सार्वजनिक शौचालय र महिलामैत्री कपडा फेर्ने स्थानको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको थियो ।

देवघाट जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुल पुनः सञ्चालन गर्नुपर्ने, शव लिएर जाने सडक व्यवस्थित गर्नुपर्ने, वर्षाको समयमा मलामीका लागि सुरक्षित बस्ने स्थान बनाउनुपर्ने, वेणी सङ्गम क्षेत्रमा पर्याप्त बत्ती जडान गर्नुपर्ने तथा समितिमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि सहभागीहरूले राखेका थिए । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको देवघाटलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रचारप्रसार, पूर्वाधार, सरसफाइ, सुरक्षा र सूचना प्रविधिलाई एकसाथ जोड्नुपर्नेमा सहभागीहरूको साझा धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ