भोटेकोशी बाढीका मृतकको आत्माको चिरशान्तिका लागि देवघाटमा सामूहिक श्रद्धाञ्जली तथा शान्ति प्रार्थना

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २२

भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पुण्य स्मृति र आत्माको चिरशान्तिका लागि देवघाटधामस्थित श्री हरिकिर्तन वैदिक धर्मशालाको हलमा सामूहिक श्रद्धाञ्जली तथा शान्ति प्रार्थना सभा सम्पन्न भएको छ ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण दिवंगत भएकाहरूको १३ औँ दिनको पुण्यतिथीमा सो कार्यक्रम आयोजना गरिएको हो । देवघाट क्षेत्र विकास समिति, सन्त समाज नेपाल, स्थानीय मठ–मन्दिर, गुरुकुलहरू र समस्त देवघाटवासीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा वैदिक तथा सनातन परम्पराअनुसार श्रीमद्भगवद्गीता पाठ तथा विष्णुसहस्रनाम पाठ गरिएको थियो ।

कार्यक्रमका बारेमा जानकारी दिँदै महेश संस्कृत गुरुकुलका प्राध्यापाक फणीन्द्र प्रसाद पौडेलले बाढीमा परी असमयमै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र उनीहरूको आत्माको सद्गतिका लागि सामूहिक प्रार्थना आयोजना गरिएको बताए ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानीप्रसाद तिमिल्सिनाले विपत्तिमा प्रियजन गुमाउनुपर्दाको पीडा असह्य हुने बताए । ‘मानव जीवन र शरीर नश्वर छ तर आत्मा अमर छ’ तिमिल्सिनाले भने ‘देवघाटधाम केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई दुःख र विपत्तिको घडीमा सम्पूर्ण मानवताको साझा संवेदनाको भूमि हो । यस्तो कठिन समयमा एकअर्काको दुःखमा साथ दिनु नै साँचो धर्म र मानवता हो ।’

कार्यक्रममा सहभागी श्रद्धालुहरूले मौन धारण गर्दै दिवंगत आत्माहरूको वैकुण्ठवास, शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र देश यस्ता प्राकृतिक विपत्तिबाट सुरक्षित रहोस् भनी भगवानसँग प्रार्थना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको