देवघाट । असोज ११
देवघाट गाउँपालिका–५ मा रहेको सीता गुफा नजिकै पहिरो गएको छ । कालीगण्डकी नदीमा आएको ठुलो बाढीले सीता गुफा नजिकै रहेको परिक्रमा मार्ग अबरुद्ध भएको छ ।



धार्मिक मान्यता अनुसार सीता माता धर्तीमा समाहित/विलय भएको पवित्र स्थानका रूपमा यस गुफालाई मानिन्छ । यो गुफा गलेश्वर आश्रम नजिकै रहेको प्रसिद्ध वशिष्ठ ऋषिको गुफाको तल्लो भागमा अवस्थित छ ।

बौद्ध धर्मावलम्बीहरूका अनुसार गुरु पदमसम्भवका शिष्य हुङ्कारले यहाँ साधना गरेका थिए । त्यसैले बौद्ध धर्मावलम्बीहरू यसलाई ‘हुङ्कार गुफा’का रूपमा पनि पूज्ने गर्छन् । देवघाटधामका अन्य प्रमुख आकर्षणहरू जस्तै गलेश्वर आश्रम, चक्रेश्वर मन्दिर र वशिष्ठ गुफा यसैको नजिक पर्छन् । उक्त पहिरोको कारण सीता गुफा जोखिममा परेको छ ।

सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीको कारण सिता गुफा नजिकको शौचालय, बाथ रूम, ठूलो ढुङ्गामा १०८ शिवलिङग कुँदिएको ऊँकार को मूर्ती, स्टोरको सामान, ओड्ने ओछ्याउने बेडिङ विस्तारा लगायत अन्य महत्त्वपूर्ण सर सामान बगाई लगेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल ईप्रका देवघाट तनहुँबाट प्रहरी टोली खटीई महत्वपूर्ण समान लगायत सीता गुफामा पुजा गर्ने पुजारी माता वर्ष ७६ की सिबानन्द गिरीलाई समेत सुरक्षित स्थान तर्फ लगिएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ ।













