तनहुँ । असोज २०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका छन् ।



लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता र मानवअधिकारलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका पन्थले पार्टी संगठनदेखि संघीय संसदसम्मको अनुभवलाई अब पार्टीको नीति, संगठन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन उपयोग गर्ने बताएका छन् ।
राष्ट्रियसभा सदस्य तथा दिगो विकास र सुशासनसम्बन्धी संसदीय समितिको नेतृत्वमा रहँदा पन्थले विधायन, संसदीय अनुगमन, संविधान कार्यान्वयन, नागरिक अधिकार, सामाजिक न्याय, संघीयता, दिगो विकास र सुशासनका क्षेत्रमा काम गरेका थिए । नीति निर्माणदेखि कार्यान्वयनसम्मको अनुभवलाई पार्टीको नीति र संगठनसँग जोड्दै नागरिकका सवाललाई अझ प्रभावकारी रूपमा उठाउने उनको प्रतिबद्धता छ ।
अपाङ्गता अधिकार, समान अवसर र अर्थपूर्ण सहभागिताका क्षेत्रमा लामो समयदेखि सक्रिय पन्थले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नेतृत्वसमेत गरेका छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई केवल प्रतिनिधित्वमा होइन, निर्णय प्रक्रियामै अर्थपूर्ण सहभागिताका रूपमा स्थापित गर्नुपर्ने उनको धारणा छ ।
१५औँ महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्र सीमित नराखी पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशालाई स्पष्ट गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने पन्थ बताउँछन् । उनका अनुसार बदलिँदो पुस्ता र नागरिकका अपेक्षालाई सम्बोधन गर्न कांग्रेसलाई थप लोकतान्त्रिक, समावेशी, जवाफदेही र जनमुखी बनाउन आवश्यक छ ।
पन्थले आगामी दिनमा समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, समान अवसर, संघीयता सवलीकरण, सुशासन र संविधानको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
“अपाङ्गता क्लस्टरको प्रतिनिधित्व केवल प्रतिनिधित्वका लागि होइन, नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि हुनुपर्छ । पार्टीका सबै तह र संरचनालाई थप समावेशी र अपाङ्गतामैत्री बनाउनु अबको प्राथमिकता हो,” पन्थले भनेका छन् ।
आफ्नो उम्मेदवारीलाई अनुभव, निरन्तरता र परिणाममुखी योगदानको प्रतिबद्धताका रूपमा प्रस्तुत गर्दै पन्थले १५ औँ महाधिवेशनका प्रतिनिधिहरूसँग साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन् ।
उनले आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेता तथा साथीहरूमा हार्दिक अपिल गरेका छन् ।












