स्टारकास्टका कारण लामो समयदेखि चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को औपचारिक रुपमा छायांकन सुरु भएको छ । बिहीबार बिहान दक्षिणकाली मन्दिरमा पूजाआजा गर्दै काठमाडौंबाट फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको ४५ प्रतिशत छायांकन काठमाडौं र बाँकी ५५ प्रतिशत मनाङमा हुनेछ । फिल्मको छायांकनका लागि कीर्तिपुरमा भव्य सेट खडा गरिएको छ ।
निर्माता सेनले भने, ‘नेपालमा हुने भिएफएक्समा विश्वास नलागेर हामीले मनाङको स्ट्रक्चरलाई काठमाडौंमा सेट निर्माण गरेर बनाएका हौं । फिल्ममा केही प्रतिशत मात्र भिएफएक्स हुन्छ । बाँकी नेचुलर खिच्नेछौं ।’ उनले फिल्मको सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा छायांकनका लागि मुस्ताङबाट मगाइएको घोडामा हुने बताए । उनले फिल्मको निर्माण लागत ३ करोड नाघ्ने अनुमान गरेका छन् ।
५५ दिने छायांकन सेड्युल बनाइएको ‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काले प्रमुख भूमिका निभाउँदैछन् । यो फिल्मको अघिल्लो दुई श्रृंखलामा पनि उनको प्रमुख भूमिका थियो । फिल्ममा ‘गीत’ को भूमिकामा नव-अभिनेत्री क्रिस्टिना गुरुङ देखिँदैछिन् । मंगलबार साँझ फिल्मको मोसन पोस्टर सार्वजनिक गरिएको थियो । जसमा अभिनेता प्रदीप खड्का योद्धा अवतारमा देखिएका थिए ।
२ सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको फिल्मको निर्देशन छेतेन गुरुङ र सन्तोष सेनले मिलेर गर्दैछन् । प्रदीप र क्रिस्टिनाका अलावा फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अभिनेता शिवले फिल्ममा राजाको भूमिका निभाउँदैछन् ।
आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार शान सेन सह-निर्मातामा छन् । फिल्म चैत २८ मा रिलिज हुँदैछ । फिल्मीखबर