देवघाटमा राहत वितरण प्रक्रिया र कोरोनाको उपचार सम्बन्धमा अन्तरक्रिया

Devghat Online

शेयर गरौ

८ बैशाख, देवघाट
कोरोना रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी जिल्ला स्तरीय समन्वय समिति तनहूँले सोमबार देवघाट गाउँपालिकाले कोरोना नियन्त्रण र रोकथामको लागि चालेको कदम र राहत वितरणको प्रक्रियाको बारेमा जानकारी लिएको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीको नेतृत्वको टोलीले देवघाट गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष एवं सरोकारवालाहरुसँग अन्तरक्रिया गरि कोरोना भाइरसको जोखिम न्युनिकरणको लागि लगाईएको लकडाउन र त्यसले पारेको प्रभाव तथा बिदेशबाट आउने नागरिकको कोरोना परिक्षण एवं राहत वितरणको प्रक्रियाको बारेमा जानकारी लिएको छ ।
सो अवसरका समन्वय समितिका संयोजक अधिकारीले अहिले कारोना भाइरससँग जुध्ने एक मात्र विकल्प लकडाउन भएको कारण सबैले लकडाउनलाई आ आफ्नै ठाउँबाट सहयोग गर्नु पर्ने बताए । जिल्लामा विपन्न व्यक्तिहरुलाई राहत वितरणलाई प्राथमिकतामा राख्नु पर्ने र अत्यावश्यक वस्तु तथा सेवाको प्रवाह अवरोध गर्न नहुने बताए । प्रमुख जिल्ला अधिकारी अधिकारीले स्थानीय निर्माण सामाग्रीको प्रयोग र स्थानीय कामदारको प्रयोग गरि सार्वजानिक निर्माणका कामहरु गर्न सकिने भन्दै त्यसकोलागि सहजिकरण गर्न आफु तयार रहेको सो अवसरमा बताए ।


देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकाले ७ सय ९१ परिवारलाई राहत वितरण गरेको जानकारी गराउँदै आवश्यक परे थप राहत वितरण गर्न सकिने बताएका थिए । लकडाउनको पालना गर्न गाउँपालिकाबासीलाई आग्रह गरिएको भन्दै उनले गाउँपालिका प्रवेश गर्ने सबै नाकामा कडाई गरिएको बताए । सार्वजानिक निर्माणको काम गर्नकोलागि वातावरण बनाउनु पर्ने र खोला तथा नदीहरुबाट नदीजन्य वस्तु उत्खनन गर्न पनि अनुमती दिनु पर्ने बताएका छन् । कोरोना लगायत सबै रोगहरुबाट बच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरसफाई महत्वपुर्ण रहेको भन्दै उनले गाउँपालिकालाई पुर्ण सरसफाई उन्मुख बनाईसकिएको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले अहिलेसम्म बिदेशबाट आएका ३४ जना नागरिकको कोरोना परिक्षण गरिएको र सबैको रिर्पाेट नेगेटिभ आएको जानकारी दिए । उनले कोरोना रोकथाम, उपचार र राहत वितरण प्रक्रियाको बारेमा गाउँपालिकाले सन्चालन गरेको कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, नेकपाका गाउँकमिटि सचिव केशवचन्द्र न्यौपाने, नेपाली काँग्रेसका गाउँ कार्य समितिका सभापती प्रेमबहादुर गुरुङ, देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङ, वडा नम्बर १ का अध्यक्ष भिमबहादुर गुरुङ, स्वास्थ्य शाखाका प्रमुख प्रदिपकुमार बुढाथोकी, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, लगायतले गाउँपालिकाको योजना र भुमिकाको बारेमा जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको सो समितिले सोमबार आवुँखैरेनी गाउँपालिका, भानु नपा र बन्दिपुर गाउँपालिकाको टोलीसँग पनि अन्तरक्रिया गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू