के के चल्न पाउँछ, के के पाउँदैन ?
१ भदौ, दमौली
कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि तनहूँको व्यास नगरपालिका र भानु नगरपालिकाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण समुदायमा फैलन सक्ने परिस्थिती सृजना भएकोले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार विहान बसेको बैठकले स्थानीय प्रशासन एने, २०२८ अनुसार व्यास नपा र भानु नपामा निशेधाज्ञा जारी गरेको हो ।

प्रशासनले व्यास नपामा सोमबार दिउँसो १२ बजेदेखि भदौ ७ गते दिउँसो १२ बजेसम्म र भानु नपामा भदौ १४ गते सम्म निशेधाज्ञा लागु गरेको हो । यो अवधिमा अत्यावश्क सेवा बाहेकका अन्य कुनै पनि सेवाहरु गर्न पाईने छैन । बैंक तथा वित्तिय संस्थाका कुनै पनि सेवाहरु पुर्णरुपमा बन्द गरिने छ । त्यस्तै उद्योग कलकारखाना तथा अन्य कुनै पनि सेवाहरु बन्द गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।



यस अवधिमा सर्वसाधरणले अत्यावश्यक काम बाहेक अन्य समयमा घरबाट बाहिर निस्कन पाउने छैनन् । निस्कनै पर्दा अनिवार्य मास्कको प्रयोग गर्ने तथा समुहमा ननिस्कने, भौतिक र सामाजिक दुरी कायम गर्नु पर्ने, मठ मन्दिर तथा सार्वजानिक स्थानमा भेला हुन नपाईने, साथै धार्मिक तथा सामाजिक कार्यमा भेला हुन नपाउने प्रशासनले जनाएको छ ।
तर यो अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद व्यवस्थापनका सेवाका कार्यहरु सन्चालन गर्न पाईने छ । त्यस्तै राष्ट्रिय राजमार्गमा सन्चालन हुने सवारी साधन पनि सन्चालन हुने छ, त्यस्तै सरकारी तथा सार्वजानिक कार्यलयका नियमित कार्यहरु पनि सन्चालन गर्न पाईने भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दुरी कायम गरि औषधी र औषधीजन्य पसलहरु, खाद्य सामाग्री पसल, दुध जन्य सामाग्रीको पसल, फलफुल र तरकारीको पसल पनि सन्चालन गर्न पाईने छ ।
त्यसैगरि एम्बुलेन्स, शव बहान, खाद्य ढुवानी, औषधी, फलफुल, कुखुराको दाना, चल्ला, माछा, मासु, तरकारी र फलफुल, दुध, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोगका झन्डावाल सवारी साधन, सुरक्षा निकायका, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासनले पास उपलब्ध गराएका सवारी साधन पनि सन्चालन गर्न पाईने सुचनामा उल्लेख छ ।
उक्त आदेश उल्लंघन गरको पाईएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने प्रशासनले जनाएको छ ।












