२ भदौ, दमौली
जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्वमा जमघट नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोभिड–१९ को जोखिम कायम रहेको र तनहुँ जिल्ला पनि यसबाट जोखिममा रहेकाले चाडपर्वमा जमघट, नाचगान लगायतका कार्य नगर्न प्रशासनले आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयले मंगलबार सुचना प्रकाशन गरि चाडपर्वहरुमा जमघट नगर्न अनुरोध गरेको हो ।
कुशे औंशी, हरितालिका, ऋषि पञ्चमी, तीज लगायतका नेपालीहरुका महान् चाडपर्व आइरहेको सन्दर्भमा उक्त पर्वहरुमा जमघट, नाचगान, सभा गर्दा कोभिड–१९ को सङ्क्रमण बढ्न सक्ने भएकाले आ–आफ्नो परिवारमा मात्र सीमित रही मनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।



चाडपर्वका अवसरमा भीडभाड हुँदा सङ्क्रमण फैलिन सक्ने र प्रत्येक व्यक्ति असुरक्षित हुन सक्ने भएकाले परिवारमा मात्र सीमित रही चाडपर्व मनाउन आग्रह गरिएको प्रशासनको सुचनामा उल्लेख छ । गन्डकी प्रदेश स्तरीय कोभिड १९ संकट व्यवस्थापन सम्बन्धि समितिले पनि चाडबाडमा हुने जमघटमा रोक लगाउने निर्णय गरेको बारेमा सुचनामा जनाईएको छ ।
प्रशासनले उक्त अनुरोध पालना नगरे सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने जनाएको छ ।












