नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको रहस्यमय हत्या भएको आज २८ वर्ष पुगेको छ । विक्रम सम्वत २००९ असार १४ गते ताप्लेजुङको ढुंङ्गेसाँघुमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना गराई हत्या भएको थियो । भण्डारीसँगै एउटै गाडीमा सवार पार्टीका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि हत्या भएको थियो । पार्टीको काममा पोखराबाट चितवन जाने क्रममा नेताद्वय भण्डारी र आश्रितको दासढुङ्गामा सवारी दुर्घटना गराई हत्या गरिएको थियो । २६ औं स्मृति दिवसको सन्दर्भमा नेताद्वय भण्डारी र आश्रित प्रति हार्दिक श्रद्धाञ्जली । मदन २०२८ सालमा पुष्पलालसँगको भेटपछि राजनीतिमा लागेका थिए । २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्दा त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रीत थिए भने भण्डारी केन्द्रीय सदस्य थिए । भण्डारी २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए । २०४६ को जनआन्दोलनमा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (माले) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । नेकपा एमालेको पाँचौं महाधिवेशनले उनै भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको नीतिलाई नेकपा एमालेको मूल सिद्धान्तको रुपमा अंगिकार गरेको थियो । भण्डारीको नेतृत्वमा नेकपा एमालेले पहिलो आम निर्वाचन २०४८ मा भाग लिई प्रमुख प्रतिपक्षीको रुपमा उदय भएको थियो । सो संसदीय कालमा एमाले संसदीय दलका नेता भण्डारीले संसदमा एमालेको सशक्त भूमिका खेलेका थिए ।

सोभियत नेता लेनिनले स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाईरहेको बेला मदन भण्डारीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेका थिए । जुन सिद्धान्तकै कारण नेकपा एमालेको भुमिका राष्ट्रिय राजनीतिमा महत्वपुर्ण रहेको थियो । यस विचमा देशका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा ंएमाले र नेकपा माओवादी केन्द्र विच पार्टी एकिकरण भई नेकपा बनेको थियो । तर सर्वाेच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाले उक्त दुई पार्टी पुनः साविककै पार्टीमा पुर्नगठित भए । हुनत पार्टी एकिकरण प्रति दुबै पार्टीका कार्यकर्ताहरु सन्तुष्ट हुन सकेनन् । विशेषगरि नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल मिलेर किनाराकृत गर्न खोजियो, त्यसैको परिणाम स्वरुप एमालेका बहुसंख्यक कार्यकर्ताले पार्टी एकता रुचाएनन् । फलतः पार्टी एकिकरण प्रक्रियालाई असंबैधानिक भन्दै एकिकरण खारेज गर्ने सर्वाेच्च अदालतको फैसलालाई एमालेका कार्यकर्ताहरुले स्वागत गरे । अहिले एमाले मुलुकको सबैभन्दा ठुलो र सरकारको नेतृत्व गरेको पार्टी बनेको छ । अहिले नेकपा एमाले जननेता मदन भण्डारीले प्रदिपादन गरेको सिद्धान्तकै जगमा आज राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनताको नीतिलाई उँचो बनाउँदै सुखी नेपाली र सम्बृद्ध नेपाल बनाउने अभियानको नेतृत्व गरिरहेको छ । यही सिद्धान्तको जगमा आज एमालले केन्द्रमा र बहुसंख्यक प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । आज मदन–आश्रित स्मृति दिवसको अवसरमा एमालेका नेताहरुले पार्टीलाई एक ढिक्का बनाई जनताको आधारभुत आवश्यकताहरु पुरा गर्न कटिबद्ध हुनु पर्ने अवस्था आएको छ ।















