जेठ १४, देवघाट
लाइन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु नेपाल एरिया घ ले तनहूँको देवघाट गाउँपालिकाको स्वास्थ्य शाखालाई एक थान अक्सिजन कन्सन्टेटर सहयोग गरेको छ । क्लवले विहिबार देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई सो सहयोग हस्तान्तरण गरेको हो । क्लवका गभर्नर रामप्रसाद भट्टले सो सामाग्री गाउँपालिकाका अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष थापाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि देवघाट गाउँपालिकालाई क्लबले सहयोग गरेकामा आभार व्यक्त गरे । अध्यक्ष थापाले देवघाट गाउँपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागी प्रचार प्रसार, माईकिङ र विभिन्न स्थानमा ब्यानर र देवघाट प्रवेश नाकाहरुमा कडाई गरि आफ्नो गाउँपालिका बासीलाई सुरक्षित राख्नको लागि निरन्तर अगाडी बढेको बताए ।



क्लवका गभर्नर रामप्रसाद भट्टले देवघाट एक पर्यटकीय, धार्मिकधामसँगै बृद्धबृद्धाहरु बढी बस्ने क्षेत्र भएको हुनाले पनि कोरोना भाइरस संक्रमण बिरामीहरुलाई थप उपचार गर्न सहयोग होस् भन्ने उद्देश्यले चितवन र नवलपुर क्षेत्रका लाइन्स क्लबहरु तथा देश बिदेशमा रहनु हुने लाइन्सका परिवार सदस्यहरु बाट सहयोग जुटाई सो अक्सिजन कन्सन्टेटर सहयोग गरेको बताए । साथै लायन्स क्लबले देशको विभिन्न स्थानहरू बुटवल, बिरगंज, हेटौंडा लगाएत अन्य ठाउँहरुमा स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरण, आइसोलेशन वार्ड र बिरामीहरुलाई खाना खुवाउने तथा रक्तदान कार्यक्रम समेत गरेको भट्टले जानकारी दिए ।
सो कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे, देवघाट गाउँपालिका स्वास्थ साखा प्रमुख प्रदिप बुढाथोकी, क्लवका कोभिड संयोजक सिद्धार्थलाल चुके, रिजन चियर पर्सन बालगोपाल चुके, देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।












