देवघाट आएर काँग्रेस उम्मेदबार भट्टराईले भने–देवघाटधाम क्षेत्रको विकासमा इंट्टा थप्ने लक्ष्य छ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत २५

तनहुँ क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईले शनिबार देवघाट गाउँपालिकाका मतदातालाई भेट गरेका छन् । देवघाटधाम क्षेत्रको अवलोकन समेत गरेका भट्टराईले देवघाटधाम क्षेत्रको बृहत्तर विकासमा इंट्टा थप्ने आफ्नो लक्ष्य रहेको बताए ।

देवघाट क्षेत्रका धार्मिक अगुवा अनि अग्रजको आशिर्वाद अनि युवाको हौसलाले आफुलाई तनहुँको विकासलाई राष्ट्रिय मुद्दा बनाउने महाभियानमा अझ बढी हौसला मिलेको भन्दै भट्टराईले आफु प्रतिको मतदाताको विश्वास वैशाख १० गते मतका माध्यमबाट व्यक्त गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको बताए ।

‘तपाईंको लामो समयको विश्वासलाई मतमार्फत आधिकारिकता प्राप्त हुने विश्वास छ’ भट्टराईले भने ‘तनहुँको माटोको समस्यामा भिजेर समाधानमा गरेको मेरो व्यक्तिगत प्रयास अब यहाँको विकासलाई राष्ट्रिय मुद्दा बनाउन वैशाख १० सम्म मलाई तपाईंको साथ आवश्यक छ ।’ उनले तनहुँको विकासलाई राष्ट्रिय मुद्दा बनाउने आफ्नो महाभियानमा साथ दिन पनि मतदातालाई अनुरोध गरे ।

भट्टराईले २०४९ देखि आजसम्म आइपुग्दा आफुले यस क्षेत्रमा ६० भन्दा बढी खानेपानीको योजना ल्याएर काम गरेको दाबीगरे । ‘कहिले काँहि गाउँघर पुग्दा अहिले आनन्दले पानी खान पाइया छ भनिदिनु हुन्छ त्यसैमा खुसी लाग्छ’ भट्टराईले भने ‘मेरा खुसी साँच्चै यो भेगको माटो, यहाँको हावा, पानी, यहाँका मानिसहरूसँग जोडिएको छ, यस पटक अझै जिम्मेवार स्थानमा पुगेर यहाँहरूको सहयात्री बन्ने अवसर पाएको छु, यहाँहरूको साथ पाएँ भने हामीले सँगै देखेका सपनाहरू छिट्टै पूरा हुनेछन् ।’

अब तनहुँ तिर्खाउने छैन भन्दै भट्टराईले तनहुँले आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक, धार्मिक, व्यावसायिक सबैले प्यास मेट्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू