आवुँखैरेनीका मतदातामाझ खनालले भने–जन्मभुमीलाई सर्वाेत्कृष्ट बनाउने अठोट छ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत २५

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार सर्वेन्द्र खनालले आफ्नो जन्मभुमी तनहुँ जिल्लालाई सर्वाेत्कृष्ठ बनाउने अठोट लिएको बताएका छन् । चुनावी अभियानको क्रममा शनिबार आवुँखैरेनी पुगेका खनालले मतदातामाझ तनहुँ जिल्लालाई सर्वोत्कृष्ट बनाउन सक्छु भन्ने अठोट लिएर राजनीतिको मैदानमा आएको बताए ।

‘कसैले त भन्छन्, व्यक्तिगत लाभका लागि आयो, तर मैले त यो देशका लागि यो देशको झण्डा फर्फराउने, देशको सान राख्ने काम गरेको छु । अहिले योजनाका हिसाबले म यो गर्छु भनेर कोही आउनुहोला ।’ उनले भने मैले अहिलेसम्म जे जति काम गरे राष्ट्रको हितमा गरेको छु, अव जिल्ला बनाउने गरि काम गर्नेछु ।’

‘मचाहिं जे राम्रो देख्छु त्यो गर्नका लागि अघि सर्ने मान्छे हुँ’ खनालले भने ‘को आयो भनेर धेरै सरोकार राख्दिन, मैले राख्नुपर्ने के छ भने नेपालीको मनमनमा, हरेक नागरिकलाई शिरमा राखेर अघि बढ्नुपर्छ । प्रहरीमा हुँदा पनि जनतासँगै बसेर काम गर्नुपर्छ भनेर जनतासँग मिलेर काम गरेको मान्छे हुँ, को को आउनुभयो जनताले चिन्नुहोला नि ।’

आफ्नो जन्मभूमिमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने अवसर नेकपा एमालेले दिएको र तनहुँवासी र समग्र नेपालको सेवा गर्ने अवसर पुनः एकपटक प्राप्त गरेको भन्दै खनालले जहाँ रहे पनि आफ्नो भावना तनहुँसँग जोडिएको बताए । ‘विगतमा विभिन्न सिलसिलामा आइयो, जागिरको सन्दर्भमा पनि आइयो । अवकाशपछिको अवस्थामा पनि मैले नागरिक र देशको सेवा गरिरहेको हुन्थें, अब अर्को फिल्ड (राजनीति) बाट सेवामै समर्पित होऔं भन्ने भावनाले यहाँ आएको हुँ’ उनले भने ।

आफ्नै ठाउँमा सेवाको अवसर पाउँदा मलाई गर्वको अनुभूति भइरहेको भन्दै उनले भने ‘केही गरौं भन्ने भावना पनि छ, मर्दासम्म जीवनभर निरन्तर यसैमा लागिरहौं भन्ने हो । मेरो अनुभव र अहिलेसम्मको विज्ञताले जे गर्न सक्छु, राष्ट्र र नागरिकका लागि गरें, अब भोलिका दिनमा पनि विकास, समृद्धिका मुद्दाहरू र मानव विकासका मुद्दाहरुमा काम गर्नेछु ।’

कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य भगवती न्यौपानेले उपनिर्वाचनले राष्ट्रवादीहरुको जित हुने बताईन् । अहिले विभिन्न नाममा र विभिन्न आश्वासन लिएर उम्मेदबारहरु घर घरमा आएको भन्दै खनालले त्यस्ता तत्वहरुलाई जनताले चिन्नु पर्ने बताईन् । नेकपा एमालेले जितेमा मात्र देश बच्ने र नेपालीको स्वाभिमान बच्ने उनले बताईन् ।

आवुँखैरेनीमा भएको चुनावी अभियानको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहाकार एकबहादुर राना, प्रदेश कमिटिका सदस्यहरु उपेन्द्र देवकोटा, ऋषि केसी, जिल्ला सल्लाहाकार मोहन विश्वकर्मा, नेकपा एमाले आवुँखैरेनी गाउँ कमिटिका अध्यक्ष कपिल खनाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू