देवघाट अनलाइन
दमौली, चैत २८
राष्ट्रिय स्वतन्त्र पार्टीका गन्डकी प्रदेशका संस्थापक सभापती समेत रहेका सांसद ढाकाकुमार श्रेष्ठ चुनावी परिचालनको लागि तनहुँ क्षेत्र नम्बर १ मा खटिएका थिए । उम्मेदबारी दर्ताको दिन यता श्रेष्ठ कुनै न कुनै रुपमा चुनावी अभियानमा संलग्न थिए । प्रदेशका संस्थापक सभापती समेतको जिम्मेबारीमा भएको कारण श्रेष्ठको भुमिका बढि हुने नै भयो । उनले आफ्नो फेसबुक पेजबाट चुनाव अवधिभर तनहुँमा खटिने जानकारी दिएका थिए । उनी गत शनिबार आवुँखैरेनी र देवघाटको चुनावी सभामा समेत उपस्थित भएका थिए ।
चुनावी प्रचारकोलागि मैदानमा रहेको बेला मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजानिक भएपछि श्रेष्ठ मैदानबाटै गायव भएका छन् । रास्वपाका समानुपातिक सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईसँग मन्त्री बन्नको लागि पार्टी सभापतीलाई बुझाउनु पर्ने भन्दै २ करोड मागेको अडियो आईतबार बिहान फेसबुकबाट सार्वजानिक भएको थियो ।
उक्त अडियो प्रकरण बाहिर आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमाथि सर्वसाधरण नागरिकको आलोचना ह्वात्तै बढेको छ । भ्रष्टाचारको विरोध गर्दै उदाएको सो पार्टीका सांसद नै भ्रष्टाचार मुद्धामा मुछिएपछि रास्वपामाथि नागरिकस्तरबाट प्रश्न उठ्न थालेको छ । चुनावी अभियानको क्रममा डा. वाग्लेले आफ्ना प्राथमिकताको मुद्धालाई मतदाता समक्ष व्यक्त गर्ने भन्दा पनि अडियो प्रकरणको बारेमा स्पष्टिकरण दिँदै हिड्नु परेको छ ।
मंगलबार भानु नगरपालिका पुगेका वाग्लेले आफ्नो पार्टी नयाँ भएको कारण विभिन्न प्रकारका मान्छे आउँदा रैछन् भने । तर रास्वपामा वाग्लेको प्रवेश पुग नपुग १० दिन मात्र भएको छ भने ढाकाराम रास्वपाका संस्थापक नै हुन् । रास्वपाको स्थापना भएपछि ७ प्रदेश मध्ये गन्डकी प्रदेशमा सबैभन्दा पहिले प्रदेश स्तरीय भेला राखेर श्रेष्ठ सभापती बनेका थिए ।
वाग्लेले उक्त अडियोको प्राविधिक चेकजाँच गरेर श्रेष्ठलाई कारवाही गर्ने बताए । उनले यस्ता घुस प्रकरण अरु पार्टीमा पनि हुने गरेको भन्दै तर अरुले भए ढाकछोप गर्ने र आफुहरुले कारवाही गर्ने भन्दै लाचारी व्यक्त गरेका थिए । हाम्रो पार्टीमा पनि खरानीहरु देखिएपछि कारवाही गर्छाै भन्ने यो पनि प्रमाण हो भन्ने कुरा स्पष्टिकरणलाई बुझ्नु पर्ने उनले बताए ।
उक्त अडियोमा गत पुसमा सरकार गठनको क्रममा सांसद श्रेष्ठले आफुले स्वास्थ्यमन्त्री पाउने निश्चित भएको हुँदा तर त्यसको लागि पार्टी सभापती रवि लामिछानेलाई दुई करोड बुझाउनु पर्ने भएकोले आफुसँग त्यत्रो रकम नभएको कारण उपलब्ध गराउन व्यवसायी प्रसाईसँग अनुरोध गरेका थिए । मन्त्री बनेपछि मिलेर गर्ने प्रतिबद्धता पनि सांसद श्रेष्ठले फोन वार्तामा गरेका छन् ।
उक्त अडियो सार्वजानिक भएपछि रास्वपाले आन्तरिक छानविन समिति बनाई श्रेष्ठलाई ३ दिनको लागि निलम्बन गरेको थियो । उक्त अवधिमा श्रेष्ठले पार्टीको केन्द्रिय सदस्य र सांसदको रुपमा केही पनि काम नगर्न निर्देशन दिएको छ । छानविनमा दोषी ठहर भए श्रेष्ठलाई सांसदपदबाट निश्कासन गर्ने रास्वपाले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा आक्रामक चुनावी अभियान सन्चालन गरेको रास्वपा अडियो प्रकरणपछि रक्षात्मक बनेको छ । रास्वपाका उम्मेदबारहरु अडियो प्रकरणको बारेमा स्पष्टिकरण दिँदा दिँदा हैरान बनेका छन् । अरु पार्टीका नेतालाई भ्रष्टाचारी करार गरि टुंडिखेलमा लगेर नाकको डाँडी भाच्नु पर्ने भन्दै आएका रास्वपाका सभापती रवि लामिछाने आफ्नै पार्टीका सांसद २ करोड घुस प्रकरणमा विवादमा मुछिएपछि अप्ठ्यारोमा परेका हुन् । यद्यपी उनले सांसद श्रेष्ठलाई निलम्बन गरिएको र थप छानविन पश्चात कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।