देवघाट अनलाइन
दमौली, चैत २८
तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले सामाजिक सुरक्षा भत्ता पाउनु जेष्ठ नागरिकको न्युनतम अधिकार भएको बताएका छन् । बुधबार देवघाट गाउँपालिकाका मतदातासँग भेटघाट गर्ने क्रममा खनालले न्यूनतम सामाजिक सुरक्षा भत्ता बृद्धबृद्धाको अधिकार हो, त्यसकोलागि जस्तो सुकै परिस्थितीमा पनि आफु लडिरहने बताए ।
बृद्धभत्ताको सुनिश्चित गरिनु पर्ने र आउँदा दिनमा राज्यले त्यसलाई छुट्टै कोष खडा गरेर त्यसै अन्तर्गत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने खनालले बताए । केही दिन सरकारका मन्त्रीले नै अवदेखी सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्ने भनेको समाचार सुनेपछि आफुलाई चिन्ता लागेको खनालले बताए ।
राज्यमा भएको भ्रष्टाचार र आर्थिक कुशासनको अन्त्य गरी राज्यको ढुकुटी सुरक्षित गर्नको साटो सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्ने कुरा गर्नु सरकारको लाचारीपन भएको भन्दै खनालले भने ‘वृद्धवृद्धालाई प्रदान गर्दै आएको न्यूनतम सामाजिक सुरक्षा भत्ता उहाँहरूको अधिकार हो त्यसको सुनिश्चित गरिनुपर्दछ र आउँदो दिनहरूको लागि आर्थिक विकासमा राज्यले ठूलो ध्यान दिनुपर्दछ ।’ नेकपा एमालेले सुरुवात गरेको यस सामाजिक सुरक्षा भत्ता यसरी कुनै तयारी बिना बन्द गरिन नहुने र आफुले त्यसबारेमा संसदमा आवाज उठाउने खनालले बताए ।
खनालले धार्मिक आस्थालाई जनताको खुसीसँग र धार्मिक स्थलहरुलाई मुलुकको समृद्धीसँग जोड्न सकिने पनि बताए देवघाटलाई नेपालकै प्रमुख धार्मिक गन्तव्यको रुपमा विकास गर्नु पर्ने भन्दै उनले त्यसकोलागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए । खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताए । राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने उनको प्रतिबद्धता थियो । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोही कारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।
नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिल्ला कमिटिका सदस्यहरु इन्द्रमान परियार, बाबुराम अधिकारी, शिवराज पौडेल, अनेमसंघकी अध्यक्ष सावित्री न्यौपाने लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।