देवघाट अनलाइन
दमौली, बैशाख ३
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले भ्रष्टाचारीहरुले जेल जाने दिन चाँडै आउने बताएका छन् । तनहुँको दमौलीमा आईतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अवको पाँच वर्ष पछि हुने निर्वाचना राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले बहुमत ल्याउने र त्यसपछि सबै भ्रष्टाचारीलाई पालैपालो जेलमा हालिने बताए । आफुहरुले पनि गलत काम गरेको भए आफुहरु पनि जेल जान तयार हुने लामिछानेले बताए ।
लामिछानेले आफ्ना पार्टीका समर्थकहरुले सामाजिक सञ्जालमा गरेको गालीगलोजप्रति सर्वसाधरणसँग माफी माग्दै आफ्नो पार्टीको कोही पनि कार्यकर्ता नभएको भन्दै कसैले पनि गरेको गालीको जिम्मेबारी नलिने बताए । उनले सर्वसाधरणलाई लागि गर्ने कुनै निर्देशन नदिएको बताए । लामिछानेले गलत काम गरेभने आफ्ना कुनै पनि सांसदलाई जुनसुकै बेलामा पनि फिर्ता बोलाउन सकिने बताए ।
सो कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार डा.स्वर्णिम वाग्लेले तनहुँको विकास र देशको अर्थतन्त्र उकास्ने आफ्नो प्रमुख एजेण्डा भएको बताए । उनले वैशाख १० हुने उपनिर्वाचन केवल एक थान सांसद निर्वाचित गरेर प्रतिनिधिसभा पठाउने कर्मकाण्डी संसदीय क्यालेण्डरमात्रै नभएको बताए । उनले भने, ‘यो परिवर्तनकारी र यथास्थितिवादीबीचको लडाइँ पनि हो । यो रक्तविहीन शान्तिपूर्ण क्रान्ति हामी परिवर्तनवादीहरुले जित्नुपर्छ । तनहुँको विकास गर्ने, राजनीति सङल्याउने र अर्थतन्त्र उकास्ने मेरो प्रमुख कार्यसूची हो । यहाँ वर्षौंदेखि एउटै समस्या समाधान हुन सकेको छैन ।’
सांसद निर्वाचित भएको एक महिना भित्र यस क्षेत्रको विकासको सम्भावनाहरुको पहिचान गरि काम सुरु गर्ने उनको भनाई थियो । आफ्नो विरुद्धमा सिङ्गो राज्य संयन्त्र नै तनहुँमा परिचालित भएको वाग्लेले आरोप लगाए । आफुलाई हराउन काँग्रेसका दर्जनौं केन्द्रिय नेता तनहुँमा परिचालित भएको तथा दर्जनौं संख्यामा साईबर सेनाहरु खटाईएको उनले आरोप लगाए । पराजित मानसिकताले आफ्नो परिवारमाथी पनि साईबर आक्रमण गर्न थालेको वाग्लेको भनाई थियो ।
सो कार्यक्रममा रास्वपाका महामन्त्री मुकुद ढकाल, केन्द्रिय सदस्य रमेश प्रसाई, सांसदहरु शिशिर खनाल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, शिव नेपाली, निर्वाचन परिचालन कमिटिका संयोजक विश्व बास्तोला, इन्जिनियर श्रीराम न्यौपाने, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, जिल्ला संयोजक विकास सिग्देल लगायतले मन्तव्य राखेका थिए ।