काठमाडौं, बैशाख २७
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।



तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेले बुधबार यस विषयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस, राष्ट्रसंघको शरणार्थी मामिलाका उच्च आयुक्त फिलिप्पो ग्रान्डी, अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कन, नेपालस्थित अमेरिकी राजदूत डिन आर थोम्पसनलाई ध्यानाकर्षण गराएका हुन् ।
नक्कली भुटानी शरणार्थीको समाचार शेयर गर्दै सामाजिक सञ्जाल ट्विटमार्फत वाग्लेले उच्च अन्तर्राष्ट्रिय अधिकारीलाई मेन्सन गरेका छन् । राष्ट्रसंघदेखि अमेरिकाले नेपालमा भुटानबाट खेदिएका सक्कली शरणार्थीको अन्तर्राष्ट्रिय पुनर्वासको मुद्दामा नेतृत्व गरेका थिए ।
अमेरिकालगायतका आठ देशले भुटानी शरणार्थीलाई सन् २००७ ताका पुनर्वास गरेका थिए । बेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, नर्वे, डेनमार्क र नेदरल्याण्डले लाख बढी नेपाली भाषा बोल्ने भुटानी शरणार्थीलाई स्वीकार गरेका थिए ।
अहिले नक्कली भुटानी शरणार्थी प्रकरण आएसँगै ती देशहरुको पनि चासो बढेको बेला राष्ट्रसंघदेखि अमेरिकी अधिकारीहरुसम्मलाई वाग्लेले गरेको ध्यानाकर्षण अर्थपूर्णमा रुपमा हेरिएको छ ।












